एजेन्सी, २९ असार । सेरेना विलियम्सलाई पराजित गर्दै रोमानियाकी सिमोना हलेपले पहिलो पटक विम्बल्डन ओपन टेनिस प्रतियोगिता जितेकी छिन् ।

सिमोनाले सेरेनालाई २-० को सोझो सेटमा पराजित गरेर महिला एकलतर्फ उपाधि जितेकी हुन् ।

उनले पहिलो दुवै सेट समान ६-२ को स्कोरमा जितेकी थिइन् । फाइनल जित्न उनले केवल ५६ मिनेट लगाएकी थिइन् ।

सिमोनाले यसअघि सेरेनासँग खेलेका १० मध्ये ९ खेल गुमाएकी थिइन् । एघारौं खेलमा दोस्रो जित निकाल्दा उनले ग्रान्डस्लामको उपाधि जित्न सफल भइन् ।

यता हारसँगै सेरेनाको २४औं ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । ३७ वर्षीय सेरेनाले पछिल्लो १२ महिनामा तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनल गुमाएकी हुन् ।

पुरुष एकलको उपाधिका लागि आइतबार राति नोभाक जोकोविच र रोजर फेडेररबीच प्रतिस्पर्धा हुँदैछ ।


Your Views
Related News