काठमाडौं, २९ असार । २०७४ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’अन्तर्गत उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘मंगलम’ बाट पुष्प खड्काले हात पारेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शित्तल निवासमा सो अवार्ड बितरण समारोहमा पुष्पले उक्त अवार्ड थापिरहँदा अर्कोतिर बहने बिरोध भएको छ ।

पुष्पलाई नाचेकाले अवार्ड हत्याउन सफल भएको समेत आरोप लागिरहेको छ । तर पुष्प आफूले भने नाचेर मात्रै अवार्ड नपाएको बताएका छन् ।

उनले भने ‘मैले नाचेर अवार्ड पाएको हुँ जस्तो लाग्दैन । त्यहाँ गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, सन्नी रौनियार जस्ता कलाकार हुनुहुन्थ्यो । उहाँहरुसँग स्टेज सेयर गर्ने मौका मात्र लिएको हुँ । अवार्ड दिन्छन् भनेर नाचेको होइनँ ।’

पुष्पले राष्ट्रिय अवार्ड जित्दा निकै खुशी लागेको बताए । भन्छन्, ‘कलाकार भएर काम गरेपछि एक पटक राष्ट्रिय अवार्ड उचाल्ने ठूलो धोको थियो । त्यो छिट्टै पूरा भएको छ । राष्ट्रले गरेको सम्मान राष्ट्रपतिको हातबाट पाउँदा जीत महसुस गरेको छु ।’

यसैबीच पुष्पले अभिनय गरेको नयाँ चलचित्र ‘मारुनी’ बाट पनि आशावादी देखिएका छन् । आफूले राष्ट्रिय चलचित्र पुरस्कार पाउँदा दर्शकको अपेक्षा ‘मारुनी’ मा अझै बढेको उनको भनाई छ ।


Your Views
Related News