इनरुवा, ३० असार । बाढी र डुबानका कारण विस्थापित बनेका करीव ५ सय परिवारलाई सहयोगी संघसंस्थाहरुले सकेको राहत उपलब्ध गराई रहेका छन् ।

यसैमध्य करिव ७५ मुसहर परिवारलाई इनरुवा ३ को जनता आधारभुत विद्यालयमा राखिएको छ । उनीहरुलाई राहत सामग्रीमा चिउरा, मुरी, चाउचाउ र भुजिया वितरण गरिराखिएको छ । तर पीडितहरुले आफुहरुलाई मासु भात चाहिएको बताएपछि यतिवेला स्थानीयस्तरमा सो विषय चर्चामा छ ।

मासु भात बेगरको खाना नखाने अडान राखी केहीबेर होहल्ला गरेका बाढी पीडितहरुलाई वडाध्यक्ष कालुराम गुरुङ लगायतका स्थानीय अगुवाहरुले सम्झाईबुझाई गरेका थिए ।

जसोतसो गरी ७५ परिवारका २ सय ५० बाढी पीडितलाई राहत सहित खानपिन जुटाउँदै आएको बताउने वडा कार्यालयले पीडितहरुबाट एक्कासी मासु भातको अडान आउनुलाई केहि व्यक्तिले उचालेको आशंका गरेको छ ।

वडाध्यक्ष कालुराम गुरुङले पीडितहरुलाई भड्काउने र उचाल्ने काम कोही कसैले गरेको भए त्यस्तो नगर्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् ।

सक्नेले आफुखुशी खानपिन लगायतको आवश्यक जोहो गरिदिन सुझाएका गुरुङले बाढी पीडितका हकमा आफु र वडाको तर्फबाट सकेको सहयोग जारी रहने बताए ।


Your Views
Related News