बेनी : म्याग्दीको मंगला गाउँपालिकाले पछिल्लो १५ दिनयता विदेशबाट आएका व्यक्तिको बारेमा सूचना दिनेलाई नगद पुरस्कार उपलब्ध गराउने घोषणा गरेको छ ।

विश्वव्यापी महामा,रीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) रोकथामका लागि विदेशबाट आएकालाई घरमै एकान्तबास राख्नका लागि अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

गाउँपालिका र वडा कार्यालयमार्फत विदेशबाट आएकाको सूचना दिनेलाई एक हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउन अध्यक्ष रोकाले बताएका छन् । उनका अनुसार मंगला गाउँपालिकामा हालसम्म १२ जना विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको छ ।

वडा र बस्ती स्तरमा कोरोनासम्बन्धी सचेतना फैलाउन माइकिङ गरिएको छ । यसैगरी मंगलाका राजपत्रअंकित तहका श्रेणीका कर्मचारीले पाँच र राजपत्र अनंकित तह, शिक्षक र श्रेणी बिहीन कर्मचारीहरुले तीन दिनको आधारभूत तलब बराबरको रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

पाँचवटा वडा रहेको मंगला गाउँपालिकामा करिब एक सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । त्यस्तै डेढ सय बढी शिक्षक छन् । चार लाख रुपैयाँ भन्दा बढी सहयोग हुने बताइएको छ ।


Your Views
Related News