भिडियो हेर्नुहोस !

यो पनि पढनुहोस ।
तरकारीसँगै घरघरमा त पुग्दै छैन कोरोना ?

ललितपुर, शनिबार साँझ ललितपुरको चापागाउँ दोबाटोदेखि खुमलटार जाने बाटोमा विद्यार्थीको नियमित प्रार्थना लाइनझैँ केही मानिसको लाइन थियो। लाइनमा बसेका अनुशासित ढंगले ‘रोल कल’झैँ पालो कुरिरहेका थिए। त्यो कुनै विद्यार्थीको लाइन नभएर तरकारी किन्नेको लाइन थियो।

सोमबार एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेपछि निश्चित दूरी कायम गरेर आम सर्वसाधारण तरकारी किन्न थालेका हुन्। लकडाउनको बेला अत्यावश्यक बाहेकका पसल खुलेका पनि छैनन्।

हरेक बिहान र साँझपख निश्चित समयका लागि त्यस्ता तरकारी तथा केही किराना पसल खुल्छन्। ती पसलमा तरकारी र दाल चामल किन्नेको घुइँचो लाग्छ। त्यसरी किन्नेले नगदमा कारोबार गर्ने गरेका छन्। ‘तरकारी किन्दा नगद नै दिने गरेको छ’, ताल्छिखेलमा बस्दै आएका सृजल पोखरेलले भने, ‘स्यानिटाइजर त प्रयोग गरेको छु,
तर विश्वास चाहिँ छैन।’ नगदमा कारोबार हुँदा जोखिम हुने ठेला गाडामा तरकारी बेच्दै आएकी विमला लामाले बताइन्। ‘बिहान बेलुकीको छाक टार्नलाई जोखिम मोलेरै पनि बेच्नु परेको छ’, उनले भनिन्, ‘तर छान्न चाहिँ दिएको छैन, मिल्ने जति पोको पारेर अलग्गै बेच्ने गरेका छौँ।’

के नगदबाट भाइरस सर्छ ?-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस खोक्दा, हाँछ्यू गर्दा वा बोल्दा निस्कने छिटा र थोपाबाट सर्न सक्ने सम्भावना बढी हुन्छ। यसैगरी अहिलेसम्मको प्रामाणिक तथ्यका आधारमा भाइरस विभिन्न वस्तुबाट पनि सर्ने गरेको छ।

त्यसैले संक्रमित व्यक्तिले छोएको नगद वा जुनसुकै सामानबाट पनि भाइरस सर्न सक्छ। भाइरस कागजमा भन्दा धातुमा धेरै समयसम्म रहने गरेको अध्ययनले देखाएको छ। विज्ञका अनुसार कागजको नोटभन्दा सिक्काबाट भाइरस सर्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले चीनमा कारोबार गर्दा नगदलाई किटाणुमुक्त गर्न थालिएको छ।

बेच्ने र किन्ने दुबैमा डर !-तरकारी तथा अन्य खाद्यान्न किन्ने र बेच्ने दुबैमा संक्रमण हुने त्रास रहेको छ। नखिपोट विशालाचोकमा खाद्यान्न स्टोर सञ्चालन गरिरहेका नवीन चापागाईँलाई नगदमा कारोबार गर्दा डर लाग्ने बताए। ‘हरेक दिन साँझ बिहान स्टोर खुला हुन्छ’, उनी भन्छन्, ‘नगद पैसा लिदा चाहिँ अलिअलि डर लाग्छ।’

नखिपोट विशाल चोकमै तरकारी किन्दै गरेकी सीता यादवलाई पनि कोरोना भाइरसको त्रास छ। ‘सुरक्षित रहने उपाय त त्यति थाहा छैन’, उनी भन्छिन्, ‘तर अरूको कुरा सुन्दा बाहिरै निस्कन डर लाग्छ। के गर्ने सकिएपछि किन्न आउनै प¥यो।’

ग्राहकले तरकारी छान्ने गर्दा मनमा त्रास हुने गरेको तिखिदेवल ललितपुरका तरकारी व्यापारी रोमप्रसाद लामिछानेले बताए। ‘अर्डर मात्र गरेर कुरेदेखि हामी पोको पारेर राखिदिन्थ्यौँ’, उनी भन्छन्, ‘सबै ग्राहकले छानेरै लानुहुन्छ।’तरकारी पसलमा अव्यवस्थित भीड हुन नदिन केही तरकारी पसलले निश्चित दूरी कायम गरी रेखा कोरेका छन्।

व्यापारी लामिछानेले पनि निश्चित दूरीबाट मात्र नगद लिने र ग्राहकलाई लाइनमा उभ्याउने गरेका छन्।त्यस्तै चापागाउँ दोबाटोको तरकारी पसलमा पनि प्रहरीको निगरानीमा व्यापारीले रेखा कोरेका छन्। साथै पसलमा आउने ग्राहकलाई प्रहरीले निगरानी गरिरहेको हुन्छ।


Your Views
Related News