म्युनिख : जर्मन क्लब बायर्न म्युनिखले आफ्ना प्रभावशाली गोलरक्षक म्यानुएल नेउरलाई अझ केही समय क्लबमै राख्न चाहेको छ। यसका लागि बायर्नले नेउरसँग सम्झौता नवीकरणको प्रस्ताव पनि गरेको छ। ३४ वर्षीय अनुभवी गोलरक्षक नेउरले भने सम्झौता नवीकरणको विषयमा

हालसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।‘हामी नेउरलाई गुमाउन चाहँदैनौं। उनी अझ लामो समय बायर्नबाटै खेलुन् भन्ने हाम्रो चाहना हो। त्यसैले सम्झौता नवीकरणका लागि प्रस्ताव पनि राखेका छौं’, बायर्न म्युनिखका प्रमुख कार्यकारी अधिकृत कार्ल हेइन्ज रुमेनिगले भनेका छन्। नेउर सम्झौता नवीकरणका लागि सहमत हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।पछिल्लो समय नेउरले बायर्न छाड्ने चर्चा चलेको छ। उनका प्रतिनिधिले पनि नेउरका लागि विभिन्न क्लबबाट प्रस्ताव आएको बताएका छन्। तर, नेउर आफैंले भने यस विषयमा केही बताएका छैनन्। बुन्डेस लिगा च्याम्पियन बायर्नसँग नेउरको सम्झौता सन् २०२१ मा सकिँदैछ।

जर्मनीको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका नेउर सन् २०११ देखि बायर्नमा आबद्ध छन्। उनी विश्वकै सर्वोत्कृष्ट गोलरक्षकमध्ये एक मानिन्छन्। बायर्न म्युनिखको थुप्रै सफलतामा नेउरको महत्वपूर्ण योगदान रहँदै आएको छ। बायर्न म्युनिखमा आबद्ध हुनुअघि अर्को जर्मन क्लब साल्केबाट व्यावसायिक फुटबल खेल्थे। उनी साल्केकै युथ एकेडेमीका उत्पादन हुन्।

खासगरी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले यी अनुभवी गोलरक्षकलाई भित्र्याउन चाहेको चर्चा चुलिएको छ। चेल्सीले उनका प्रतिनिधिमार्फत कुरा अगाडि बढाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। बायर्नका प्रमुख कार्यकारी अधिकृत रुमेनिग भने नेउर अन्यत्र जानेमा आफू विश्वस्त नरहेको बताउँछन्।

‘बायर्न र नेउरको बीचमा कुनै मतभेद छैन। उनी पनि क्लबलाई निकै मायाँ गर्छन्। त्यसैले नेउरले क्लब छाडछन् भन्ने कुरामा कुनै सत्यता छैन’, रुमेगिनले भनेका छन्। रुमेनिगले नेउर चेल्सी जाने हल्ला पनि निराधार भएको दाबी गरेका छन्। ‘यो हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन’, उनी भन्छन्।


Your Views
Related News