हामीकहाँ एउटा भनाइ नै छ- नेताका छोरा नेता, डाक्टरका छोरा डाक्टर!त्यसमाथि बाबु देशकै चिरपरिचित डाक्टर छन् भने त छोरामाथि समाज र घरपरिवारको दबाब अझ बढी हुन्छ।

चिकित्सा क्षेत्रमा चासो राख्नेहरूका लागि चक्रराज पाण्डे परिचित नाउँ हो। नेपालका यी प्रसिद्ध हाडजोर्नी डाक्टर ग्रान्डी अस्पतालका सञ्चालकसमेत हुन्। यति परिचित डाक्टरको छोरा भएपछि चिरनराज पाण्डेलाई पनि डाक्टरी पढ्नुपर्ने कम द,बाब थिएन। तर, आज उनी बाबुको पेसाभन्दा फरक साहित्य र रचनात्मक लेखनमा लागेका छन्।

न्यूयोर्क विश्वविद्यालय, आबुधाबीमा छात्रवृत्ति पाएर साहित्य र रचनात्मक लेखनमा स्नातक गरिरहेका चिरनले गत महिना संसारको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट एकवर्षे स्नातकोत्तर अध्ययन गर्न छात्रवृत्ति पाएका छन्।

न्यूयोर्क विश्वविद्यालय, आबुधाबीको पछिल्ला दस वर्षमा अक्सफोर्डको ४९ हजार डलर छात्रवृत्ति पाउने उनी पहिलो विद्यार्थी हुन्। यो छात्रवृत्तिका लागि १५ सयभन्दा बढी आवेदकबाट प्रत्येक वर्ष १५ जना छनौट गरिन्छ। यसमा एकप्रतिशतले मात्र पूरा छात्रवृत्ति पाउँछन्। चिरन तिनै भाग्यशाली आवेदकमध्ये एक हुन्।

उनले गत वर्ष छात्रवृत्तिका लागि आवेदन दिएका थिए। त्यसलगत्तै परीक्षामा पास भएर छनौट समितिलाई भिडिओ अन्तर्वार्ता दिए।

‘संसारभरि अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालयको क्रेज छ। त्यसमा पनि अक्सफोर्डमा साहित्य पढ्न पाउनु ठूलो कुरा हो,’ २२ वर्षीय चिरनले सेतोपाटीसँग भने।

काठमाडौंमै कक्षा १२ सकेर उनी साढे चार वर्षअघि आबुधाबी गएका हुन्। उनले अमेरिकाको कोर्नल विश्वविद्यालयमा दुई महिनाको छात्रवृत्ति कोर्स पनि पढिसकेका छन्। यसबीच क्यानडाबाट प्रस्ताव आए पनि विश्व साहित्यमा अक्सफोर्ड राम्रो मानिने हुँदा त्यहीँ पढ्ने निर्णय गरेको उनले बताए।

छोराको यो सफलतामा चक्रराज प्रफुल्लित छन्।

चक्रराज र चिरन पाण्डे

‘नेपाली विद्यार्थीले विदेशमा ठूलो प्रतिस्पर्धा गर्नुपर्छ। यसमा कसैले अक्सफोर्डको प्रतिष्ठित छात्रवृति पाउनु भनेको हाम्रो परिवारको लागि मात्र नभई पूरै देशकै लागि गौरवको विषय हो,’ उनले भने, ‘अहिले कोरोना त्रासबीच यस्तो सकारात्मक खबर सुन्न पाउँदा निकै खुसी लागेको छ।’

यसबाट नेपाली युवाले मिहिनेत गरे विदेशमा राम्रो ‘प्लेटफर्म’ पाउन सक्छ भन्ने सन्देश जाने उनले बताए।

उनका अनुसार, सानैदेखि चिरनको पढाइ राम्रो थियो। स्कुलमा शीर्ष विद्यार्थीमै पर्थे। उनलाई इतिहास र लेखनमा रूचि थियो।

‘उसको किताब पढ्ने रूचि देखेर हामी चकित पर्थ्यौं। ऊ सानैदेखि इतिहास र साहित्यका किताब पढेको पढ्यै गर्थ्यो,’ बाबु चक्रराजले भने।

चिरन साहित्य अध्ययनमा रूचि बढ्नुको श्रेय ब्रिटिस काउन्सिललाई दिन्छन्।

‘पहिले ब्रिटिस काउन्सिलमा बालबालिकाका लागि छुट्टै कक्षा हुन्थ्यो। सानोमा बुबाले त्यहाँ पठाउँदा म आफ्नो कक्षा सकेपछि दिदीलाई कुर्न पुस्तकालयमा पढेर बस्थेँ,’ उनले भने, ‘घरमा पनि पढाइको राम्रो वातावरण थियो।’

यसबाहेक स्कुलमा अन्य किताबभन्दा साहित्य नै बढी पढ्ने गरेको र शिक्षकहरूले पनि रचनात्मक लेखनमा प्रोत्साहित गरेको उनले बताए।

कक्षा १२ को अध्ययनपछि एक वर्ष खाली बस्दा विश्व साहित्यका थुप्रै किताब पढेर लेखन शैली निखार्ने मौका पाएको उनी सुनाउँछन्।

‘म ह्यारी पोर्टरको ठूलो फ्यान थिएँ। त्यसकै किताब र फिल्म हेरेर हुर्कें। यसले मलाई सानैदेखि कथा लेख्नमा टक बस्यो। नेपालका केही मिडिया हाउसमा इन्टर्न पनि गरेँ,’ उनले भने।

चिरनको साहित्य अनुरागलाई परिवारले सधैं सम्मान गर्यो। सुरू सुरूमा उनलाई पनि बाबुजस्तै चिकित्सा क्षेत्रमा लाग्ने इच्छा थियो। पछि चिकित्सा क्षेत्रमा आफू रमाउन नसक्ने बोध भएको उनले बताए।

‘नेपाली समाजमा डाक्टरको छोराले डाक्टरी नै पढ्नुपर्छ भन्ने सोच छ। चिरनले त्यो मानसिकता तोड्यो, म यसमा खुसी छु,’ चक्रराजले भने, ‘मैले मेरो बच्चालाई सानैदेखि ‘त्यो क्षेत्रमा लाग, जुन क्षेत्रमा तिमी रातदिन काम गर्दा पनि रमाउन सक्छौ’ भनेर सिकाएँ। चिरनको लेखाइप्रतिको जोश र शैली एकदमै राम्रो छ। ऊ यसमा रातदिन खटिएर लाग्न सक्छ, जुन म सक्दिनँ।’

बालबालिकालाई कुन विषय पढ्न हुने वा नहुने भनेर सानैदेखि सिकाउनु गलत भएको उनी बताउँछन्।

‘बच्चाहरूलाई त हामीले ज्ञानको ढोका मात्र खोलिदिने हो। ज्ञानको कुन क्षेत्रमा उसको मन बस्छ, त्यो आफैं निर्णय गर्न दिनुपर्छ,’ उनले भने।

चिकित्साको तुलनामा साहित्यमा आर्थिक आकर्षण कम छ नि भन्ने प्रश्नमा चिरन भन्छन्, ‘साहित्य क्षेत्रमा आर्थिक स्थिति बलियो पार्न गाह्रो होला, तर यसले हामीलाई सोच्ने र जिउने कला सिकाउँछ।’

चिरनलाई पछि इतिहास दर्शनशास्त्रमा पिएचडी गर्ने मन छ। अक्सफोर्डमा एक वर्षको स्नातकोत्तरपछि त्यही विषय पढ्ने उनले योजना बनाएका छन्।


Your Views
Related News