बुटवल – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभागहरू विभाजनमा सहमति भएको दोस्रो दिन दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालको गुटका एक जना शक्तिशाली नेताले पूर्वसहमति कार्यान्वयन हुनुपर्ने भन्दै सरकार परिवर्तनको अभिव्यक्ति दिएका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी बिहीबार मात्रै विभागहरूको बाँडफाँड भएको थियो । एमालेले पाएको विभागहरूको संयोजक शुक्रबार टुंगो लगाएको थियो । दाहाल बिरामी परेका कारण माओवादीले विभाग कसलाई दिने भनेर टुंगो लगाएको छैन ।

दाहालका निकट मानिने नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने माग राखेका हुन् । उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।

‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्द्रका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, बुटवलमा शनिबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खड्गप्रसाद ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् । तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

नेता पौडेलले बुटवलमा दिएको यो अभिव्यक्तिलाई खुमलटारको आधिकारिक धारणाका रुपमा बालुवाटारले लिएको छ । दाहाल निकट मानिने पौडेलले नै ओलीलाई दवाव पर्ने गरेर अभिव्यक्ति दिएपछि विभिन्न खालका अड्कल हुन थालेका छन् ।

नेकपाका नेता पौडेलले सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका दोस्रो तहका अध्यक्ष दाहालले गर्ने दाबी गरेका छन् । सरकारको नेतृत्व परिवर्तनको समय भने आइनसकेको उनको भनाइ छ ।

नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको उक्त अवसरमा बताए । निर्मला काण्ड, संसदमा दर्ता भएका विभिन्न विधेयक, विषादी परीक्षणलगायत विषयमा सरकार बुद्धिमत्तापूर्ण ढंगले अघि नबढेको पौडेल बताएका छन् ।

उनले गुठी बिधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको बताएका छन् । नेता पौडेलले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।

देखिनेगरी सरकारले नतिजा निकाल्न नसक्नुमा मन्त्रीको भूमिका रहेको भन्दै उनले सरकार गतिशील बनाउन मन्त्री परिवर्तन गर्नुपर्ने बताए ।
‘सरकारले देखिने गरी काम गर्न सकेको छैन । कमकमजोरी देखिएका छन्’, नेता पौडेलले भने, ‘यसका लागि मन्त्री फेर्नुपर्छ ।’


Your Views
Related News