गोरखा- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, शक्ति र पैसाका लागि जे पनि गर्ने संस्कार विकसित हुँदै गएको बताएका छन् । पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति पार्टीभित्र बढ्दै गएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।

गृहजिल्ला गोरखामा कम्युनिष्ट नेता श्रीनाथ अधिकारीको स्मृति सभामा बोल्दै उनले पार्टीभित्र वैचारिक र सांस्कृतिक बहस जरुरी रहेको बताए ।

चरम व्यक्तिवाद हावी हुँदै जाँदा पार्टीको आन्तरिक स्वच्छता कमजोर हुँदै गएको उनको भनाई थियो । कम्युनिष्ट आन्दोलन चरम भ्रष्टीकरणमा गइरहेको नेता श्रेष्ठले बताए ।

‘विकासका कुरा गर्दा पीपीपी हुन्छ, पब्लिक प्राइभेट पार्टनरशिप । अहिले हाम्रो कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा पीपीपी अर्को रुपमा लागू हुन थालेको छ, पोस्ट, पावर र प्रपर्टी, यो तीनवटाको निम्ति जे पनि गर्ने’, उनले भने ।

पार्टीका विभिन्न विभागको नेतृत्व कसले गर्ने भन्ने बारे विवाद र बहस भइरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो अभिव्यक्तिले सत्तारुढ नेकपामा खैलाबैला मच्चिएको छ ।

प्रवक्ताको यो भनाईले ओली दाहालसहित शीर्ष नेताहरु तनावमा रहेको नेताहरुले बताएका छन् ।


Your Views
Related News