काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्‍याए ।

विपी जयन्तीको अवसर पारेर शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे ।

सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गरे । त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेका थिए ।

देउवाले प्रस्तावित ‘दुरसञ्चार ऐन’ को विरोध गरे । सरकारले टेलिफोन ट्याप गर्ने र आफ्ना विरोधीहरुलाई फोन गर्दै गाली गर्‍यो भन्दै ठेगान लगाउन खोजेको उनको आरोप छ ।

‘हुँदाहुँदा टेलिफोनमा गाली गर्‍यो भने एक वर्ष जेल, कति हजार जरिवाना रे । यदि यो साँचो हो भने टेलिफोन ट्यापिङ हुने भइहाल्यो ।’

टेलिफोन ट्याप नगरी फोनमा गाली गरेको थाहा नहुने भन्दै उनले अघि भने, ‘यो अर्को खतरनाक कुरा हो । गोप्यता नरहने भयो, कुरा गर्नै अप्ठ्यारो हुने भयो ।’

सरकारले ‘फोन गर्दै गाली गर्‍यो’ भनेर आफ्नो विरोध गर्नेहरुलाई जेल हाल्न सक्ने भन्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यही हो अधिनायवादी शासन भनेको ।’


Your Views
Related News