बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ ।

सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा गरिएको सो अनुसन्धानले कर्णाली प्रदेशमा र प्रदेश नम्बर २ मा ती चार प्रकारका रोगी उच्च भेटिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो ।

प्रारम्भिक प्रतिवेदनले कूल मृत्युमध्ये ती रोगको भार १० प्रतिशत रहेको उल्लेख गरेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले सरुवाभन्दा नसर्ने रोगीको सङ्ख्या र मृत्युसमेत बढेको जानकारी दिँदै यसमा सरकारले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । “नसर्ने रोग बढ्नुमा बदलिँदो रहनसहन र खानपानका मुख्य कारण रहेको देखियो ।”, उहाँले भन्नुभयो ।

सरकारले मिर्गाैला, मुटु, क्यान्सर रोगीका उपचार गर्न केही आर्थिक सहयोगसमेत गर्ने गर्दछ । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान रणनीति विसं २०७६ सार्वजनिकसमेत गरिएको थियो । स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित स्वास्थ्य पद्धतिको विकास गर्ने मुख्य ध्येयले परिषद्ले स्वास्थ्य सेवा सङ्घीयतामा गइसकेपछि पहिलोपटक सो रणनीति जारी गरेको हो ।

रणनीतिमा स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना, जनशक्ति र पूर्वाधार क्षमतालाई सङ्घीयताअनुरुप विकास गर्दै जाने, अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई नीति, निर्माण, योजना तर्जुमा कार्यान्वयनमा उतारिने, अनुसन्धानलाई विश्वसनीय र गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय मूल्य र मान्यता तथा मापदण्डअनुसारको बनाउने, अनुसन्धान संस्कृति, नवीनतम ज्ञान, सीप र प्रविधिको विकासलाई प्रवद्र्धन तथा प्रोत्साहन गरिने छ ।

यसैगरी अनुसन्धानको क्षेत्रमा साझेदारी प्रवद्र्धन गरिने, देशमा उपलब्ध जडीबुटी, खनिज, आयुर्वेद तथा परम्परागत चिकित्सासम्बन्धी ग्रन्थ, ज्ञान, सीप आदिको थप अनुसन्धान गर्र्दै अभिलेखीकरण गरिनेलगायतका रणनीति रहेका छन् ।

स्वास्थ्यमा लगानी बढाउन प¥यो ः राज्यमन्त्री डा यादव

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कम भएको गुनासो गर्दै स्वास्थ्य क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न रु ३५ अर्ब आवश्यक पर्ने बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो, “विनियोजित पैसा तलब, सेवा, सुविधा तथा केही मात्र पूर्वाधार विकासमा खर्च हुन्छ । कसरी दिगो विकास लक्ष्य हासिल हुन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य अनुसन्धानलाई आवश्यक पर्ने बजेट मन्त्रालयले प्रदान गर्न कञ्जुस्याइँ गर्दैन भन्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले सबैका लागि स्वास्थ्य नारालाई पूरा गर्न स्वास्थ्य अनुसन्धानलाई जोड दिनुपर्छ भन्नुभयो ।

परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झा र अनुसन्धान प्रमुख डा धिमालले स्वास्थ्य अनुसन्धान परिषद्को संस्थागत संरचनालाई सुदृढ बनाउँदै यसको कार्य क्षेत्रलाई सङ्घीयताअनुरुप विकास र विस्तार गरिने जानकारी दिनुभयो ।


Your Views
Related News