काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली कांग्रेसलाई जनताको मुख्य शत्रु करार गरेको छ । दलाल पुँजीवादलाई नै नेपाली समाजको मुख्य शत्रु मानेको नेकपाले त्यसको संरक्षण गर्ने र नेतृत्व गर्ने पार्टीका रूपमा कांग्रेसलाई चित्रण गरेको हो । र, सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति नेपाली काङ्ग्रेस नै भएको उसको ठहर छ ।

“नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन,” नेकपाको राजनीतिक दस्तावेजमा भनिएको छ, “यद्यपि यसले लोकतान्त्रिकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काङ्ग्रेसले नै गरेको ठहर गर्दै नेकपाले आरोपित गरेको छ, “त्यसैले अन्तरराष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवं अन्योन्यास्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नु पर्दछ । उसको यही आर्थिक नीतिकै कारणबाट काङ्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन । नेपाली काङ्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको छ ।”

कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन नसकेको र नाकाबन्दीका बेला आत्मसमर्पण गरेको नेकपाको निष्कर्ष छ ।

‘कांग्रेसले सरकारको नेतृत्वमा हुँदा कैयौं पटक राष्ट्रिय हितविपरीत सन्धिसम्झौता र राष्ट्रियतामाथि आघात पुर्याउने निर्णय भएका छन् । २००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरूमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको’ नेकपाले आरोपित गरेको छ ।

“राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ । नेपालको लोकतान्त्रिक संघर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौं सन्दर्भमा भ्रष्टहरूको संरक्षण समेत गरेको छ,” नेकपाले दस्तावेजमा उल्लेख गरेको छ ।

विगतमा नेकपाले सामन्तवादविरुद्धको सङ्घर्षमा पटक–पटक नेपाली काङ्गे्रससँग सहकार्य गरेको सन्दर्भ उल्लेख गर्दै नेकपाले भनेको छ, “भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ । तर वर्गीय, वैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली काङ्ग्रेस नै हो,” नेकपाले निचोड निकालेको बाह्रखरी अनलाइनमा समाचार छ ।


Your Views
Related News