प्यूठान : संसारमा अनेक भू–बनोट छन्। ती सबै बनोट तमाम मानिसको नजरमा नपर्न सक्छन्। तर, केही यस्ता बनोट छन्, जसका दृष्यहरु जादुमय लाग्छन्। त्यस्ता भू–बनोट धेरैजसो मानिसको नजरबाट टाडा रहन सक्तैनन्।तिनै मनमोहक भू–बनोट मध्येको एक हो–सारीको बनोट। यसको आकर्षणबाट पन्छिन जो कोहीलाई गाह्रो हुन्छ। स्वर्गद्धारी नगरपालिका–५ सारीको यो प्राकृतिक भू–बनोट पछिल्लो समय सबैका लागि आकर्षण केन्द्रको रुपमा विकास हुँदै गएको छ। आन्तरिक एवं पर्यटकहरु यो प्राकृतिक बनोटको दृश्वालोकन गर्न यहाँ आउँछन्।

६ बिगाहा सार्वजनिक जमिन क्षेत्रफलमा फैलिएको उक्त बनोटमा पछिल्लो समय दृश्वालोकन गर्न पुग्नेहरुको भिड लाग्ने गर्छ। पुस्तौदेखि नै बनोट यसैगरी अडिएको छ। स्थानीयका अनुसार यस बनोट सदियौँदेखि यस्तै छ।

पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी दर्शन गर्न पुग्ने पर्यटकलाई यस स्थानमा पु¥याउन सकिन्छ। नयाँ पर्यटकीय गन्तव्यको रुपमा यसलाई विकास गर्नसकिने बोलियो सम्भावना छ। स्वर्गद्धारीमा दिनहुँ सयौँ भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन्। ती भक्तजनहरुलाई भू–बनोटको बारेमा जानकारी गराउनसके पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिन्छ।

माडी क्षेत्रमा स्वर्गद्धारीपछिको गतिलो प्राकृतिक गन्तव्यको रुपमा भु–बनोटलाई स्वर्गद्धारी नगरपालिकाले लिएको छ। यसको प्रवद्र्धनमा विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाइएको नगरप्रमुख नेत्र बहादुर रोकायले जानकारी गराए। उनका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

पार्क निर्माण, वृक्षारोपण, तारवार निर्माण, सामुदायिक वनको संरक्षण गर्नका लागि कार्यक्रम बनाइएको उनले सुनाए। ‘अहिलेको संरचना नविग्रने गरी अझै मनमोहक बनाउदै छौँ’,रोकायले भने,‘प्रकृतिले दिएका उपहारलाइ संरक्षण गर्नु सरकारको दायित्व हो।’

अन्यत्र जिल्लाहरुमा कृतिम संरचना बनाएर पर्यटक भित्र्याउने गरेको अनुभव सुनाउदै रोकायले प्राकृतिले नै साथ दिनु सोभाग्य भएको उल्लेख गरे। ‘मानिसहरु माटाका मूर्ति, मन्दिर बनाउन तछाडमछाड गर्छन्’,उनी भन्छन्,‘यहाँ आफै बनेका छन्। यसैको प्रवद्र्धन गरेर आर्य आर्जन गर्न सकिन्छ।’

कसरी पुग्ने ?

भू–बनोटमा पुग्ने दुइवटा मार्ग छन्। स्वर्गद्धारीको आधारशिविर भिंगृ बजारबाट ५ किलोमिटर यात्रा पारगरेपछि भिंगृकै बाटुले भन्ने स्थानमा पुगिन्छ। त्यहाँबाट अलिकती ओरालो झरेपछि झोलुंगे पुल तर्दै मोटरसाइकलमा यस ठाउँमा पुग्न सकिन्छ।

गाडीमा यात्रा गर्नेहरु भिंगृ बजारदेखि नजिकै रहेको माडी खोलाको बेलिव्रिज हुँदै पुग्न सक्छन्। बजारदेखि करिब तीन किलोमिटर यात्रा पार गरेपछि भू–बनोटमा पुग्न सकिन्छ। सालघारी–बेलवास–सारी–डाँडागाँउ हुँदै रोल्पा जोड्ने फराकिलो सडकले समेत यसलाई छोएको छ।


Your Views
Related News