काठमाडौं– टी–२० विश्वकपको एसियाली छनोटको फाइनल चरणबाट नेपाल बाहिरिएको छ। मलेसिया र कुवेतलाई हराएको नेपाल कतार र सिंगापुरसँग पराजित भयो। प्रतियोगिताकै बलियो टिम नेपालको क्रिकेट कमजोर देखिँदा कप्तान पारस खड्का आफ्नो स्तरको क्रिकेट नै खेल्न नसकेको बताउँछन्।

आइतबार फाइनल सरह बनेको समूह चरणको अन्तिम खेलमा त नेपालको बलिङ, ब्याटिङ दुवै कमजोर रह्यो। यसले नेपाली टिम टी–२० विश्वकपसम्म पुग्न चुक्यो। एसिया छनोटको फाइनल चरणमा नेपालले देखाएको खेलले ग्लोबल छनोटमा पुग्ने स्तर नरहेकै देखिनु दुःखद छ। यसैले कप्तान पारस खड्का भन्छन्, ‘यो हाम्रो स्तरको क्रिकेट नै होइन।’

के भने पारसले?

सिंगापुरले निकै राम्रो क्रिकेट खेल्यो, उनीहरुको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट थियो। उनीहरुले ब्याटिङ पिचको सदुपयोग गर्न सके। हामीले जस्तो ब्याटिङ गर्नुपर्ने हो त्यस्तो गर्न सकेनौँ। यो विकेटमा त्यति लक्ष्य भेटाउन सकिने नै हो, तर हामीले गर्न सकेनौँ।

बलिङमा पनि हामीले राम्रो लाइनमा बलिङ गर्नुपर्ने थियो। तर, उनीहरुको ब्याटिङ राम्रो नै हो। हामीले नै ब्याटिङ पिचको फाइदा उठाउन सकेनौँ। विश्वकप खेल्ने योजना छ भने १ सय ९२ रनको लक्ष्य त पूरा गर्नैपर्ने हो। दुर्भाग्य भनौँ आज हाम्रो दिन थिएन। प्रतियोगिताभर नै हामीले आफ्नो राम्रो क्रिकेट खेल्नै सकेनौँ।

नेपाली क्रिकेट यहाँसम्म आइपुग्न हामीले धेरै नै मेहनत गरेका हौँ। सिंगापुरका खेलाडीहरु पनि राम्रा देखिएका छन्। उनीहरुले मेहनत बढाउँदै जाँदा अझ बढी सफलता पाउने नै छन्। ग्लोबल क्लालिफायरमा पुगेको सिंगापुरलाई बधाई। उनीहरुको खेल अझ राम्रो हुँदै जाओस्।

कमजोर खेल

आइतबार सिंगापुरले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमै समेटिएको हो। विशाल लक्ष्य पछ्याएको नेपालका कुनै ब्याट्सम्यानले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा सिंगापुर ८२ रनले विजयी भयो। जितसँगै सिंगापुर टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ।

निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। कप्तान पारस खड्काले १२ रन बनाउँदा सोमपाल कामीले ११ रनको पारी खेले।

मैदान प्रवेश गर्ने बित्तिकै लामो सट हान्न खोज्नु नेपाली ब्याट्सम्यानको मुख्य कमजोरी बन्यो। विकेट गए पनि लामो साझेदारी गर्दै टिमलाई जिताउन सकिन्छ भन्नेमा कुनै पनि ब्याट्सम्यान विश्वस्त देखिएनन्। निकै हतारमा देखिएका नेपाली ब्याट्सम्यान सिंगापुरका बलरसामू निरीह सावित बनेका थिए।

सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले ४ विकेट हात पारे। ४ ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए। विनोथ भास्करणको नाममा २ विकेट रह्यो।

यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो।


Your Views
Related News