नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई आज सोमबार पार्टी प्रवेश गराउँदै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई सिद्ध्याउन पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि बढी नै फोकस गरेर हाम्राविरुद्ध षडयन्त्र र प्रचारहरु भईरहेका छन् ।’ उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’ विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’

यसै प्रसंगमा उनले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताएका छन्। गणतन्त्र, संघीयता जस्ता उपलब्धी गुमेको अवस्थामा नेपाल बर्बाद हुने भन्दै उनले उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन नेता कार्यकर्तालाई अपील गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने पनि उनको दाबी छ । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताएका छन् । माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताएका छन्।

कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे’, ‘एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिएका छन्।हेग पुर्‍याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने समेत बताएका छन्। उनले भने, ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । तर त्यसो हुन दिन कोहि चाहँदैनन्।’


Your Views
Related News