नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आह्वान गरेतापनि काठमाडौंका मुख्य सडकहरुमा बिहानैदेखि निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आइरहेका छन् । विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा बन्द आह्वान गरेको हो । विप्लव नेतृत्वले आह्वान गरेको नेपालबन्दको प्रभाव राजधानी काठमाडौंमा खासै देखिएको छैन । बन्दको हल्लाले सुरक्षाका कारण लामो दूरीका सवारी सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीहरु बताऊँछन् । काठमाडौंबाट छुट्ने र काठमाडौं भित्रने लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।

लामो दुरीका सवारी साधनमा प्रभाव देखिए पनि काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन। विप्लवको बन्दको कारण देखाउँदै विद्यालय प्रशासनले आफ्ना छोराछोरी विद्यालय नपठाउन आग्रह गरेपछि अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाएका छैनन् । निजी विद्यालयहरु भने अघोषित रुपमा बन्द गरिएका छन् । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह समेत गरेको छ।


Your Views
Related News