काठमाडौं- स्थानीय सरकार पछिल्लो समय आलोचित बनिरहेका छन् । जनअपेक्षा अनुसार काम गर्नुको साटो जनप्रतिनिधी स्वार्थप्रेरित काममा लागेको गुनासो जनताको छ ।अनियमितता देखि अराजकतासम्मको आरोप जनप्रतिनिधी माथि लाग्दै आएको छ । सँगै विलासिताका कारण समेत जनप्रतिनिधी आलोचित बनिरहेका छन् । जनताका स–साना समस्या समधान गर्नुको साटो करोडौंका गाडी किन्ने होड नै चलिरहेको छ ।

महानगर र उपमहानरका प्रमुख–उपप्रमुखले विलासी गाडी चढ्ने गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्ना लागि १ करोड ४५ लाखको मित्सुविसीको पजेरो किने ।

मेयर निर्वाचित भएपछि १२ असोज २०७४ मा पत्रकार सम्मेलन गरी गाडी, तलब–भत्ता सुविधा नलिने घोषणा गरेका उनले महानगरमा गाडी हुँदाहुँदै आर्थिक वर्ष ०७५–७६ को अन्तिममा ना १ झ १६९८ नम्बरको नयाँ गाडी किनेका हुन् । यसअघि उनी महिन्द्रा कम्पनीको बा १ झ १६६३ नम्बरको स्कोर्पियो चढ्दै आएका थिए । वीरगञ्ज महानगरपालिकासँग आपत्कालका लागि नभई नहुने एम्बुलेन्सको भने अभाव छ ।

उनी मात्रै होइनआफूसँग गतिलो सवारी साधन हुँदाहुँदै महँगो गाडी चढ्नेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि हुन् । मेयर शाक्य ८५ लाख पर्ने गाडी छाडेर १ करोड २० लाख पर्ने टोयटाको फोच्र्यूनर चढ्न थालेका हुन् ।

भरतपुर महानगरकी मेयर रेणु दाहाल बा २ झ १४६२ नम्बरको ल्याण्डक्रुजर चढ्छिन् । यसको बजार मूल्य १ करोड ६३ लाख पर्छ । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफू चढिरहेको गाडी छोडेर फोर्ड कम्पनीको इन्डेभोर खरीद गरेका छन् । साहले २०७५ साउनमा त्यो गाडी खरीद गरेका हुन । यो गाडीको बजार मूल्य १ करोड ३८ लाख रहेको छ ।


Your Views
Related News