वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुनासाथ अब विश्वका समुन्द्रमा नेपाली झण्डा फहराउँदै पानीजहाज चलाउने भन्दै सुनाएको योजना कतिपयले पत्याएका थिएनन् । त्यसैले बाढीले मुलुक जलमग्न हुँदा कागजको पानीजहाज बनाएर प्रधानमन्त्री ओलीलाई हाँसोको पात्रसमेत बनाइएको थियो । तर अब कम्तिमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएको छ । प्रधानमन्त्रीले जनाएको यो प्रतिवद्धता पुरा गर्न वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् ।

प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरेपछि नेपाली झण्डा अंकित कन्टेनरमा नेपालसम्म सामान ढुवानी हुने भएको छ। कम्पनीका अध्यक्ष देवीप्रसाद भट्टचनले नेपालसँग कारोबार हुने ठूला एशियाली बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सले सेवा सुरु गर्न लागेको बताएका छन् । भट्टचनका अनुसार पहिलो चरणमा झण्डै २ हजार कन्टेनर खरिद गरी यो सेवा सुरु गर्न लागिएको हो । ती कन्टेनरमा नेपाली सिपिङलाइन्स र नेपालको राष्ट्रिय झण्डा पनि अंकित हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वका समुन्द्रमा नेपाली पानीजहाज चलाउने सपना सुनाए लगत्तै भट्टचनलाई प्रधानमन्त्रीको त्यो बोलीले झस्कायो । उनले नेपालको पानीजहाज नै चलाउने सम्भावना तत्काल नभएपनि नेपालको झण्डा फहराउँदै पानीजहाज संचालन गर्न सकिने सम्भावना देखेपछि सो काम तर्फ आफ्नो कदम अघि बढाएको जनाएका छन् । ‘अब हाम्रा व्यवसायीले विदेशी कन्टेनर भाडामा लिनुपर्ने छैन । साथै उनीहरुको समय र पैसाको पनि वचत हुने पनि बताएका छन् । यहि बिषयलाई समेटेर हिमालयन टेलिभिजनले एउटा भिडियो सामग्री तयार पारेको छ ।


Your Views
Related News