१६ साउन, काठमाडौं । न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९/१९ वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी छु । हारको अनुभव पनि कम छैन ।हारमा बग्ने आँसु र जितमा निस्कने मुस्कान खेलकुद जीवनको घामछाया नै हुन् । हार्दा नआत्तिनु र जित्दा नमात्तिनुचाहिँ महत्वपूर्ण कुरा लाग्छ मलाई ।

हरेक खेलाडीले अनुभव गर्ने सबैभन्दा ठूलो दबावको क्षण भनेको निःसन्देह देशको प्रतिनिधित्व गरेर खेल्दा नै हो । देशका लागि पदक जित्दाको खुशी र गौरव अवर्णनीय नै हुन्छ । त्यतिबेला खेल जीवनका सारा दुःखहरु भुलिन्छ । हार्दाको पीडाको त के कुरा गर्ने… यस्ता अनुभव त सुनाउने छु नै, सुरुमा चाहिँ आफूलाई भाग्यमानी र अभागी एकैसाथ ठानेको इन्चोनको कथा भन्छु है

कराँते खेल्न थालेको छोटो अवधिमा नै मैले एसियन गेम्स खेल्ने मौका पाएँ । तर निकै तनावका बीच ।यो २०१४ को कुरा हो । दुईवटा कराते संघ भएका कारण दुवै तिरबाट खेलाडीहरुको नाम गएको रहेछ । ६८ मुनिको तौल समूहमा मेरो र गंगा अधिकारीको नाम गएछ । एउटा संघबाट छनोट भएका खेलाडीहरु ट्रेनिङ गर्न जापान गए । अर्को संघबाट परेकी विमला तामाङ र मचाहिँ बालाजु डोजोमा नै अभ्यास गरिरहृयौं ।

इन्चोन जाने हो कि होइन टुंगो थिएन । कहिले त ‘आ, अब खेल्दिनँ’ भनेर पनि नसोचेको होइन । तर हामी दुवैको एग्रिगेसन कार्ड आयो । कोरिया पुग्यौं । तर खेल्ने-नखेल्ने अनिश्चित नै थियो ।

मेरो गुरुले भन्नुहुन्थ्यो, मैले खेल्न पाउँछु । गंगा दिदीको गुरुले भन्नुहुन्छ, गंगाले खेल्न पाउँछिन् । उहाँ ११ औं सागको गोल्ड मेडलिष्ट पनि हुनुहुन्थ्यो । तर टाइसिट आउँदा मेरो नाम आयो । मैले एसियन गेम्स खेल्ने भएँ । तर राम्रो भएन ।

होस् पनि कसरी ? अरु साथीहरु जापान गएर अभ्यास गरिरहँदा म भने नेपालमै थिएँ । त्यसमा पनि पहिलो भेट नै चार पटककी विश्व च्याम्यिनसँग भयो । चिनियाँ खेलाडीबारे जानकारी थिएन । म सीधै नकआउट भएँ ।

लामो विवादबीच खेल्न पाएको खुसीलाई नकआउट हुँदाको पीडाले तुरुन्तै ओझेल पारिदियो । मसँगै इन्चोन गएकी विमलाले चाहिँ कास्य पदक जितिन् । नेपाल पदकविहीन हुनबाट जोगियो । यसले मलाई पनि खुशी दिलायो ।

इन्चोन जानुअघि मैले २०१४ मा दिल्लीमा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा गोल्ड मेडल जितेको थिएँ । प्रतियोगितामा आठ देशको सहभागिता थियो । ६८ केजीमुनि भएको प्रतिस्पर्धाको सेमिफाइनलमा भारतलाई पराजित गरेँ । फाइनलमा अफगानिस्तानलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएँ । यो नै अन्तर्राष्ट्रियस्तरमा पाएको गोल्ड मेडल हो मेरो ।

घर मेरो सिन्धुली । परिवारमा बाबा, सानीमा, दाजु भाउजू अनि भाइ र बहिनी छन् । आमा पहिल्यै बित्नुभयो… (आमाको कुरा गर्दा उनले आफूलाई सम्हाल्न सकिनन् । निकै बेर रोइरहिन् ।)

सानोमा निकै मोटी थिएँ । सबैले मोटी, मोटी, भन्न थालेपछि तौल घटाउनकै लागि कराँते सिक्न थालेँ । त्यतिबेला म १८-१९ वर्षको भइसकेकी थिएँ ।

कराँते खेल्न दाइले निकै हौसला दिनु भयो । संगिना वैद्य यस्तो हो, उस्तो हो, भनेर सुनाइरहनु हुन्थ्यो । तँ पनि संगिना वैद्य जस्तो खेलाडी बन्नुपर्छ भनिरहनु हुन्थ्यो ।

तर बुवाले भने हामीले कराँते खेलेको मन पराउनु हुन्नथ्यो । छोरीको हातखुट्टा भाँचियो भने भोलि कसले बिहे गर्छ भन्ने लाग्थ्यो होला ।

एउटा घटना सुनाउँछु । स्कुलमा दाइहरु फुटबल खेलिरहनु भएको थियो । हामी हेरिरहेका थियौं । खोई कताबाट हो बुबा आइपुग्नु भएछ । बुबालाई देखेपछि दाइहरु भाग्नुभयो । उहाँले त गोलपोष्ट बनाउन गाडेको बाँस निकालेर नजिकैको खोलामा बगाइदिनुभएछ ।

बुबाको असन्तुष्टिका बाबजुद मैले कराँते खेलिरहेँ । किनभने झण्डै ६०/६१ केजीकी म ४९ केजीमा झरिसकेको थिएँ । दाइको साथ थियो । मेरो खेल पनि राम्रो भइरहेको थियो । कमल गुरुले फाइट खेलाउनु हुन्थ्यो । म केटाहरुलाई पनि जित्थेँ । मेरो किकमा निकै पावर थियो । दाइहरुले अहिले पनि भन्नुहुन्छ, तिमीले त कस्तो पावर हान्थ्यौ । अझै याद छ ।

सिन्धुलीमा रमाइरहेको मलाई काठमाडौंसम्म ल्याउन भने भ्याली प्रतियोगितामा मेरो प्रदर्शनले ठूलो भूमिका खेल्यो । मैले निकै राम्रो गरेपछि गुरु र सबैले काठमाडौं गएर खेल, राम्रो हुन्छ भन्नुभयो । उहाँहरुकै सल्लाहअनुसार म बालाजु डोजोमा आएँ । सुरुमा त मलाई निकै गाह्रो भएको थियो, विस्तारै बानी पर्‍यो । खेल निखारिँदै गयो । मोटोपन घटाउन कराँतेमा लागेकी ममा खेलाडी बन्ने रहर जाग्दै आयो ।

बालाजु डोजोमा आवद्ध भएपछि मैले कमलपोखरीमा भएको भ्याली च्याम्पियन कराँते प्रतियोगिता खेलेकी थिएँ । हुन त त्यसबेला डोजोमा मभन्दा राम्रो एक जना खेलाडी थिइन् । तर मैले जिद्दी गरेपछि गुरुले दुवैलाई खेल्न दिनुभयो । मैले उनलाई नै पराजित गर्दै गोल्ड मेडल जितेँ । त्यसपछि मलाई जित्ने बानी पर्न थाल्यो ।

****

मैले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी थिएँ । त्यतिबेला आफ्नै कारण हार्न पुगेँ । मेरो स्कोर हाई थियो, तर पावर लागेर आउट भएँ । तेस्रो भएँ ।

मैले सातौं राष्ट्रिय खेलकुद पनि खेलेँ । फाइनल म्याचमा विपक्षीमाथि आक्रमण गर्न नसकेपछि रजतमै चित्त बुझाएँ ।

आठौंमा भने यसअघि गरेको गल्ती दोहोर्‍याइनँ । स्वर्ण जितँे । त्यही सफलताको कारण अहिले म यहाँ छु । आठौंमा भाग्यले पनि साथ दियो जस्तो लाग्छ । ११ जना भएकाले पहिलो खेलमा बाई पाएँ । दोस्रो खेल प्रदेश एकसँग थियो । त्यो जितेँ । सेमिफाइनलमा एपीएफलाई हराएँ । फाइनलमा नेपाल आर्मीकी रिता कार्की मैनालीसँग भेट भयो । फेरि चुकेँ भने अरुले के भन्छन् जस्तो लाग्यो ।

सातौंको फाइनलमा गरेको गल्ती नदोहोर्‍याउने संकल्प गरेँ । सुरुमा उहाँले नै स्कोर बनाउनु भयो । मनमा लाग्यो, अब हार्ने भएँ, फेरि स्वर्ण गुम्यो । दिमागले भन्यो, अझै समय छ, जित्नुपर्छ । हार्दाको पीडा सम्झिएँ । जसरी पनि जित्नुपर्छ भन्ने लाग्यो र जितेँ पनि ।

हल तालीले गुन्जायमान भयो । यो नै मेरो राष्ट्रियस्तरको पहिलो स्वर्ण पदक थियो । स्वर्ण जित्दाको मज्जा बल्ल थाहा भयो । ध्रुवविक्रम (मल्ल) गुरुलाई फोन गरेर सुनाएँ । उहाँ निकै खुशी हुनुभयो । त्यसपछि दाजुभाइ र घरपरिवारमा फेान गरेँ ।

स्वर्ण पदक जित्दा कति खुसी मिल्छ, त्यो जित्नेहरुलाई मात्रै थाहा हुन्छ । मैले एउटा सपना पूरा गरेको थिएँ । त्यो खुसी अनुभव गरेको थिएँ ।

****

अहिले हामीलाई काठमाडौंमा हुने १३ औं दक्षिण एसियाली खेलकुद -साग) लागेको छ । क्लोज क्याम्पमा अभ्यास गरिरहेका छौं । अभ्यासका क्रममा किक हान्दा खुट्टामा चोट लाग्यो । तर सामान्य चोट हो । कुनै ठूलो समस्या छैन ।

हाम्रो लक्ष्य भनेको सागमा राम्रो गर्नु हो । मेरो व्यक्तिगत लक्ष्य भन्नुपर्दा गोल्ड मेडल नै हो । योभन्दा तल खुशी हुन सक्दिनँ । जसरी पनि देशका लागि गोल्ड मेडल ल्याउनु छ ।

कराँतेमा वर्षौं लगानी गरेको छु, देशलाई स्वर्ण पदक जिताउने सपना बुनेको छु । त्यही सपना पूरा गर्न बिहानदेखि बेलुकासम्म अभ्यास गरिरहेको छु । मलाई थाहा छ, सबैको सपना पूरा हुँदैन, तर त्यसो भनेर चुप लागेर बस्नु पनि भएन । जसले राम्रो गर्छ उसैले जित्छ । म पनि मेहनत गरेर जित्न चाहन्छु ।

यसपाली म ६८ केजीमाथि समूहमा खेल्दैछु । मेरो समूहमा भारत र पाकिस्तानका खेलाडी छन् । उनीहरु बलिया छन् । उनीहरुलाई जित्न सकेँ भने मेरो गोल्ड पक्का हुन सक्छ । तर यो त्यति सजिलो पनि छैन ।

उनीहरुको हाइट पनि राम्रो छ, म उनीहरुभन्दा होची छु । हाइटकै कारण मैले उनीहरुलाई किक लगाउन सक्दिनँ । उनीहरुलाई हराउने पञ्च, चुकीबाटै हो, त्यही अभ्यास गरिरहेको छु ।

****

म सानो छँदा आमा बित्नुभयो । पारिवारिक अवस्था कमजोर भएकै कारण दाइ र मैले पढ्न पाएनौं । भाइबहिनीलाई भने पढाएका छौं । ठूली बहिनी नर्सिङ पढ्दै छिन् । सानो बहिनी १२ मा र भाइ ९ कक्षामा पढ्दैछन् । आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउन सकेकोमा खुशी छु ।

तपाईंलाई मेरो अर्को कुरा पनि भन्छु । म कराँतेमै मात्र सीमित छैन । म्युजिक भिडियोहरुमा अभिनय पनि गर्छु । खेलपछि बचेको समयमा केही म्युजिक भिडियो खेलेको छु । अस्ति भरखर तीज गीतको म्युजिक भिडियो खेलेँ । तर मेरो यो सुरुवात हो । खेल र कलाकारिता दुवैबाट देशलाई चिनाउन चाहन्छु ।

राष्ट्रियस्तरमा नेपाल पुलिस क्लबबाट खेल्दैछु । क्लबमै आबद्ध त होइन, कन्ट्रयाकमा खेल्छु । जतिबेला खेल हुन्छ, त्यतिबेला मलाई पुलिस क्लबले पैसा दिएर खेल्न बोलाउँछ । म जान्छु, खेल्छु । कुनै टिममा अनुबन्धित भने भएको छैन ।


Your Views
Related News