निर्मल भट्टराई एक चिनियाँ दार्शनिकले भनेका छन्—आफ्ना विचारको ख्याल गर किनभने ती शब्द बन्दछन् । शब्दहरुको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन् । बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् । चरित्रको ख्याल गर किनभने ती भाग्य बन्दछन् । र, भाग्य नै तिम्रो जीवन हुनेछ ।

विचार अनुसारको चरित्र हरेक मानिसमा अपेक्षा गरिएको हुन्छ । व्यक्तिले व्यक्त गर्ने विचार उसको कार्य, बानी वा चरित्रसंग मेल नखाए त्यो विचार नक्कली हुन्छ । निःसन्देह, विचार अनुसारको कार्य नगर्ने, बानी नसुधार्ने र चरित्र प्रदर्शन नगर्ने व्यक्ति अविश्वसनीय हुन्छ, कहिलेकहीं खतरनाक समेत हुन्छ ।

कुनै नेताको विचार एकातिर र कार्य, बानी व्यवहार र च रित्र अर्कैतिर देखिंदा सो नेताप्रति जनताको विश्वासको पारो स्वात्तै घट्दछ । अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”को सवालमा त्यस्तै हुन लागेको आभाश हुन्छ । पार्टी सचिवालयले कुनै निकास दिन नसकेको बेला पार्टीको मूल नेतृत्वविरुद्ध उहाँको पछिल्लो आरोपपत्रले उनको विश्वसनीयतामा थप स्खलन भएको छ ।

पार्टी एकताका काम बाँकी हुदै पार्टीमा विभाजनको विऊ रोप्नु पर्ने वाध्यतामा पुग्नु भएका कमरेड प्रचण्डले नेकपा गम्भिर संकटमा रहेको बताए पनि साँचो अर्थमा नेकपाचाहिँ होइन, प्रचण्ड आफैचाहिँ ईतिहासमै गम्भिर संकटमा रहेको साँचो हो ।

कमरेड प्रचण्डको राजनीतिक उदय माओवादी विचारबाट भएको हो । भन्न परोइन, माओवाद दीर्घकालीन जनयु द्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने विज्ञान हो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर दस बर्षे जनयु द्ध सञ्चालन गरेका प्रचण्ड शान्तिपूर्ण जनआन्दोलन, दुई दुईवटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यही विचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट दुई–दुई पटक प्रधानमन्त्री बनिसक्दा पनि माओवादी धङ्धङीबाट मुक्त हुन सक्नुभएन ।

२०४९ सालमा भएको तत्कालीन एमालेको पाँचौं महाधिवेशनबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादी कार्यक्रम पास भएपछि र त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो समर्थन र ख्याती कमाए पछि त्यसको विकल्पमा २०५२ साल फागुनमा माओवादी सशस्त्र वि द्रोह शुरु भएको थियो । मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा प्रयोग गरेकोको “बहुदलीयता” शब्दप्रति तीव्र घ्रिणा नै तत्कालीन माओवादी आन्दोलनको वैचारिक प्रस्थानविन्दु थियो ।

२०५१ जेठ १६–२०सम्म चितवनमा सम्पन्न तत्कालीन माओवादी पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड प्रचण्डद्वारा प्रस्तुत एवं पारित राजनीतिक प्रतिवेदनमा जबज र एमालेप्रति गरिएको टिप्पणी यसको सबभन्दा दह्रो प्रमाण हो । त्यहाँ भनिएको छ–“हाम्रो पार्टीको महाधिवेशन भएदेखि एकताको अढाईबर्षको अवधिमा एमाले संशोधनवादी गूट सैद्धान्तिक रुपमा र व्यवहारिक दुवै अर्थमा प्रतिक्रियावादीको स्तरमा गिर्दै गएको छ ।

यसले संसदीय व्यवस्थाप्रतिको आफ्नो विश्वासलाई बहुदलीय जनवादको पूँजीवादी राजनैतिक दिशा निश्चित गरेर घोषितरुपमा जाहेर गरेको छ । प्रतिक्रियावादी सरकार र व्यवस्थाको रक्षाको निम्ति त्यसले जानीबुझी जनतालाई धोका दिएको छ । विभिन्न साम्राज्यवादी,विस्तारवादी एवं प्रतिक्रियावादी गुटहरुसंगको दावेदारी र तालमेलद्वारा यही प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत सत्तामा पुग्ने दाउपेचमा यो गुट दिलोज्यानले लागिपरेको छ ।

सरकार बनाउने हौवा खडा गरेर यो गुटले कार्यकर्ता र जनतालाई भ्रम दिन पूरा कोशिस गरिरहेको छ । यसरी सिद्धान्त, राजनीति र व्यवहारिक आचरणको कुनै पनि हिसाबले एमालेगुटले अब निम्न पूँजीपतिबर्गको समेत प्रतिनिधित्व गर्न नसक्ने हुदै गएको छ । यो गुटको अब सामान्य देशभक्त र जनतान्त्रिक चरित्र पनि तीव्र गतिमा ह्रास भईरहेको छ । हामीले अगाडि एमाले संशोधनवादी गुटको यसप्रकारको चरित्रको व्यापक र व्यवस्थित भण्डाफोर गर्दै ।।

जनताको बहुदलीय जनवादलाई यसरी तारो हान्दै राजनीति शुरु गरेका प्रचण्डलाई जीवनको उत्तराद्र्धमा घुमीफिरी आफ्ना पुराना सबै विचारलाई तिलाञ्जली दिएर जबजकै लाईनमा लाग्न पक्कै सहज छैन, संकटपूर्ण नै छ ।

त्यहीकारण कमरेड प्रचण्ड गम्भिर एवं संकटपूर्ण वैचारिक संक्रमणकालबाट गुज्रदै हुनुहुन्छ । उहाँलाई वैचारिक सहजीकरणको आवश्यकता छ, उद्दारको आवश्यकता छ । किनभने वैचारिक संक्रमणको प्रक्रिया स्वीच थिच्दा बत्ती बल्नेजस्तो छिटो प्रक्रिया होईन, यो असाध्यै धिमा प्रक्रिया हो ।

अहिले एकता प्रक्रिया नै नटुङ्गिएको नेकपा विभाजनको हल्ला पिटाईदैछ । कमरेड प्रचण्ड लगायतका केही शीर्ष नेताहरु नै पार्टी विभाजनको दिशामा जाँदैछ विभाजन हुन दिईदैन भनेर तात्तातो भाषण गर्दैछन् । ईतिहासमा फुट र विभाजनका ठूल्ठूला पीडा भोगेर आएको नेकपा यस्ता सानातिना हौवाले फुट्दैन भन्ने हेक्का शीर्ष नेतामै नहुनुचाहिँ अत्यन्त आश्चर्यजनक र विडम्वनायुक्त छ ।

बरु एकताको भागबण्डा र अन्योलका कारण लकडाउनलाई तोडेर नेकपालाई जनतासम्म पुग्न अब कसैले रोक्न चाहेर पनि सक्दैन । तृणमूल तहसम्मको नेकपाको संगठनलाई पदीय हिसाबकिताब सहितको पूँजीवादी स्वार्थले विभाजनमा लान सक्दैन । विगतमा सकेन, अब झन सक्दैन ।

सर्वविदितै छ , तत्कालीन एमालेका निर्वाचित अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओली नै नेकपाको सबभन्दा शीर्ष र आधिकारिक नेता हुनुहुन्छ । त्यसपछिको पार्टीको आधिकारिकताको दावी कमरेड प्रचण्डको हो, अरु नेताको हो । अरुले जति पार्टी विभाजनको हौवा फिंजाए पनि के पी शर्मा ओली नडग्मगाउदासम्म नेकपालाई कसैले फुटाउन सक्दैन । कमरेड प्रचण्डकै शब्दमा पार्टी विभाजन गरेर पछाडि फर्कने पुल भाँचिइसकेको छ ।

कमरेड प्रचण्डले तत्कालीन माओवादीको नेतृत्व गरेदेखि तत्कालीन एमालेसंग एकीकरणमा आईपुग्दासम्म एकल नेतृत्वको अभ्यास गर्दै आए । फरकमतलाई पार्टीभित्र नसहने बरु पार्टी छोड्न वाध्य पार्ने कार्यशैलीबाट अभ्यस्त प्रचण्डलाई तत्कालीन एमालेको सामूहिक नेतृत्वको शैलीमा अभ्यस्त हुन त्यत्तिकै संकट छ ।

“सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी”को तत्कालीन एमाले परम्परा अँगालेको नेकपाका ‘कार्यकारी’ अध्यक्ष हुँदा पनि कमरेड प्रचण्डलाई कुनै ‘फिल’ भएन । सामूहिक नेतृत्वमा हुने त त्यही हो । माओवादी जनयु द्ध उत्कर्षमा पुगेको बखत आफ्नो तजविजले गरेका निर्णय र फर्माइएका आदेशको फिल अहिले सम्झेर त कसरी चल्छ र ?

त्यो पैमानाको अध्यक्षको ‘फिल’ त नेकपामा कहिल्यै कसैलाई हुन सक्दैन । एउटा लोकतान्त्रिक पार्टीमा यस्तो अपेक्षा राख्नु नै गलत छ । यसले त केवल सर्वसत्तावादी च रित्रको संकेत गर्दछ ।

कमरेड प्रचण्डको वैचारिक सांगठानिक संक्रमणकालीन संकट पनि अब नेकपाकै संकट हो । पार्टीका एक नेताको संकटलाई अरु नेताले अनुभूत गर्न सक्नुपर्छ अनिमात्र सो संकटलाई सामूहिक प्रयत्नबाटै यसको हल गर्न सकिन्छ ।

भन्न परोइन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको कम्युनिष्ट आन्दोलनमा फरक धारको नेतृत्व गर्दै यहाँसम्म आइपुग्नु भएको हो । चीनमा माओले जसरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका थिए, त्यसरी नै नेपालमा दीर्घकालिन जनयु द्धको माध्यमबाट सत्ता कब्जा गर्ने प्रमुख राखेर २०५२ सालमा शुरु भएको माओवादी जनयुद्धले करिब दश बर्षको अवधिमा थुप्रै होनहार नेता, शिक्षक, मानव अधिकारकर्मी तथा सर्वसाधारण जनताको ज्यान गयो । ठुलो मात्रामा जनधनको क्षति भयो ।

माओवादी जनयु द्धका केही सकारात्मक परिणाम हुदाहुदै पनि केही गम्भीर भूल पनि छन् । ती भूलमध्ये व्यक्ति हत्या प्रमुख थियो । शान्ति प्रक्रिया, २०६३को तुमुलकारी परिवर्तनले व्यक्ति हत्याको शृंखला त रोकियो, तर विगतमा माओवादीनिकट मानिएका संचारगृह मार्फत झुटा समाचार कथा बनाएर राष्टपति, प्रधानमन्त्री, मन्त्री र अन्य नेता कार्यकर्ताको चरित्र हत्याको शृंखला जारी रह्यो ।

अहिले नेकपा एकतासंगै माओवादी बिचार शृंखलाको विधिवत अन्त्य भएको छ । पार्टी एकताको नेकपाको एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको मूल नेतृत्व प्रधानमन्त्री के पी शर्मा ओलीको चरित्र –ह त्या गर्ने दुर्भावनासहित एउटा आरोप पत्र पार्टी सचिवालयमा पेश गर्नु भएको छ । यसले पार्टीको सम्पूर्ण पंक्ति तरंगित भएको छ ।

उक्त आरोप पत्रले पार्टीको मूल नेतृत्वको तेजोवध गर्न सकेन, बरु अर्का अध्यक्ष प्रचण्डको कद नराम्ररी घटाएको छ । जनताको आस्थाको शीर्ष स्थानमा बसेका नेताबाट यस्तो अनपेक्षित कर्म कसरी भयो भन्ने सर्वत्र प्रश्न उठेको छ ।

कमजोरी सबैका हुन्छन् । ठूला नेताका झन् ठुला कमजोरी हुन्छन् ।प्रचण्डबाट भएको यो कमजोरीलाई यसरी नै लिनु उपयुक्त हुन्छ ।कमजोरीलाई प्रवृत्तिको रुपमा विकास हुन दिनु हुदैन । चिनियाँ कम्युनिष्ट पार्टीको ईतिहास पढ्ने जो कोहीलाई थाहा छ । माओले लिन प्याओलाई अति विश्वास गरे । आफ्नो उत्तराधिकारी बनाए । तर उनले माओलाई भौतिक रुपमै सिध्याउन गुटबन्दी गरे , षणयन्त्र गरे । मूल नेतृत्वलाई सिध्याउने लिन प्याओ प्रवृत्तितर्फ जानबाट प्रचण्डलाई जोगाउनु पर्छ । यसैमा नेकपाको भलाई छ ।


Your Views
Related News