काठमाडौँ, ९ मंसिर ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल अ सन्तुष्ट बनेका छन् । बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन् ।

‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थियौं तर उहाँले त्यसको जवाफ लिखित रुपमा दिएर फायर खोल्नुभएको हो ।

यो विषय सचिवालयमै टुंग्याउनुपथ्र्यो तर उहाँ (दाहाल) ले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म पठाउनु उपयुक्त होइन । यो त पार्टी विभाजनकै तहमा जाने कुरा भयो ।

यसले राम्रो गर्दैन’, नेपाललाई उद्धृत गर्दै उनी निकट एक नेताले भने । स्थायी कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी हो । दाहालको यस कदमबाट नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ ।

कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष ओलीले कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आएका छन् ।

सचिवालय बैठक माग गर्दै कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका प्रथम अध्यक्ष ओलीलाई पत्र लेखेका थिए । तर ओलीले कात्तिक २५ मा सो पत्रको जवाफ फर्काएका थिए ।

कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाललगायत पाँचजना सचिवालय सदस्यको तर्फबाट भन्दै कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन पेस गरेका थिए ।

त्यसपछि मंसिर ३ मा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रतिवेदनमा लगाइएका आरोपको खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताएका थिए । सोही बैठकमा उनले दाहालको प्रतिवेदनको जवाफ दिने पनि बताएका थिए ।

ओलीले जवाफ लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक १३ गते बस्ने गरी स्थगित गरिएको थियो । अब बस्ने बैठकमा ओलीले जवाफी प्रतिवेदन पेस गर्ने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


Your Views
Related News