काठमाडौ : मुलुकलाई उज्यालो दिने व्यक्तिको रुपमा चिनिन्छन्,कुलमान घिसिङ । १८ घण्टाभन्दा बढी लामो समयको लोडसेडिङ अन्त्य गरेर उज्यालो दिएका कुलमान जति शासकको अप्रिय छन्, त्यत्ति नै जनताको प्रिय र पूज्य छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको निरन्तरता बहुसंख्यक नेपालीले चाहेका थिए ।
तर, उनलाई राज्यले दोहो¥याएन र उनको स्थानमा पदपूर्ति पनि गरिएको छैन, जस कारण कुलमानको प्राधिकरण यात्रा अझै सम्भावना रहेको धेरैले झिनो आशा गरेको पाइन्छ।
उनी फेरि प्राधिकरणको नेतृत्व लिन जालान् वा नजालान् यो भविष्यमा थाहा हुने नै भयो । तर, अहिले कुलमानको योगदानको जस लिन नेताहरुको हानाथाप देखिएको छ । लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको
होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन्। तर, तत्काल लोडसेडिङ अन्त्य नहुने, लोडसेडिङ हटाउन वर्षाैं लाग्ने प्राधिकरणका पूर्वप्रमुखदेखि जलविद्युत विज्ञहरुको भनाइ विपरीत कुलमानले नेतृत्व सम्हाले लगत्तै सदाको लागि अन्धकार हटाएको यथार्थले नेपालीको मन जित्न सफल भयो। २०७३ भदौं ३१ गते प्राधिकरणको नेतृत्व सम्हाल्न थालेका कुलमानले सोही वर्षको लक्ष्मी पूजाको दिनबाट लोडसेडिङ अन्त्यको अभियान थालेका थिए ।