नेपालमा माक्र्सवादी अथवा माक्र्सवादी–लेनिनवादी भन्ने त लाखौँ छन । तर माक्र्सवादको मर्म बुझेर राजनीति गर्नेचाहिँ कति जना होलान ? १०, २०, ३० कति होलान ? मान्छेतिर नजाऊँ । अरू पार्टीको कुरा गर्न मिल्दैन मैले । मजदुर, विद्यार्थी, किसान, महिला, ०४७ सालको राजा र जनता मिलेर एक नयाँ संविधान बनाए र तिनीहरूले ०१७ सालको विचार बोक्ने संविधानलाई फालिदिए । नयाँ संविधानले पनि जनतालाई सन्तुष्टि दिएन । अहिले झगडा गरिरहनुभएका मेरा नेता साथीहरूले नै माक्र्सवादको सुगन्ध बुझ्नु भएको छैन भन्ने कुरा प्रष्टै भएपछि मैले अन्ततिर गइरहनै परेन ।

केपी ओली नेतृत्वको सरकारले राम्रो गरेको छ । राम्रोलाई त राम्रो भन्नै पर्यो नि । उहाँले राष्ट्रियताको लडाइँलाई एउटा नयाँ उचाइसम्म लग्नुभयो । यो उहाँले पूर्ववर्ती सरकारहरूले गरेको भन्दा ठूलै काम हो नि । राजा आउ देश बचाउ भन्नेले पनि बुझेको कुरो के हो भने राजा ज्ञानेन्द्रले गर्न नसकेको काम पनि केपी ओलीले गर्नुभयोे । यस्ता केपीलाई वरिपरि रहेका साथीभाइले त सघाउनुपर्छ । तर राजदूत बनाउँदा, अरू ठूल्ठूला पदहरूमा नियुक्ति गर्दा हामीसँग सल्लाह गरेनन भन्ने नाउँमा आफ्नै प्रधानमन्त्रीको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्छ ? मिल्दैन नि । यसमा अरू सबै बेठीक र केपी ओलीमात्रै ठीक भन्ने पक्षमा पनि म छैन । केपी ओलीले पनि सँगैका साथीभाइसँग सल्लाह गर्नुपथ्र्यो । तर जतिसुकै ठूलो क्रान्तिकारी भए पनि सबै क्रान्तिकारी स्वभाव एकै खालको त हुँदैन । कोही विनम्र हुन्छन, कोही ठाडा । नानीदेखि लागेको बानी दुई दिनमा उडेर त जाँदैन नि !

यसबाहेक लेनिनवाद माक्र्सवादको उच्च रूप होइन । माक्र्सवाद व्यक्तिको स्वतन्त्रताको पक्षधर हुन्छ । जबकि लेनिनवादले अधिनायकत्वको पक्षधरता जनाउँछ । मध्यम वर्गीय वुद्धिजीवीलाई पनि अधिनायकत्वको गन्ध मन पर्छ । विश्वका धेरै मुलुकमा यस्तै वुद्धिजीवीले परिवर्तनकारी नेतृत्व गरेका हुनाले ती बीचैमा तुहिए या अपूर्ण भए । म वैश्विक कुरा गर्दिनँ । तर नेपालमा चाहिँ हरेक परिवर्तनमा यही कमजोरी देखिएको छ । ००७ साललाई पुष्पलालले त्यसै अपूर्ण क्रान्ति भन्नुभएको थिएन । ००७ सालपछि पूर्वको मुक्ति आन्दोलनलाई दबाउने, लुम्बिनीमा के. आई. सिंह र सुदूरपश्चिममा किसान नेता भीमदत्त पन्तको विद्रोहलाई दबाउन भारतीय फौज बोलाउने काम त भएकै हो नि । कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको पनि २००८ सालमै हो । त्यसैले एउटा देशभक्त नेपालीको हिसाबमा भन्ने हो भने नेपाली जनताले किन २००७ सालको जयगान गाउने ?

मताधिकारको प्रयोग त ०१५ सालमा मात्र भयो । त्यसैले नेपालीले केही पाए भन्ने हो भने २०१५ सालमा पाए । ००७ सालमा त मोहनशमसेरले गुमाए, त्रिभुवनले कमाए । ०१५ सालमा जनताले पाएको अधिकार ०१७ सालमै गुमाए । राजा महेन्द्रलाई आफ्नै लाहाछापप्रति विश्वास लागेन, त्यसैले उनले त्यसलाई च्यातेर फालिदिए । त्यसयताको हालत सबैलाई थाहा छ, ०१७ सालपछि जन्मिएकाहरूले नै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने जिम्मेवारी पाए । किनभने हामी बूढा भयौँ ।

यति सजिलोसँग संसारको कुनै मुलुकको संविधान फेरिएको मलाई थाहा छैन । धडाधड संविधान फेरिए तर संविधान सञ्चालकहरू तिनै रहे, जसले पञ्चायती संविधानअन्तर्गत काम गरेका थिए । सक्रिय राजतन्त्रको संविधानको भलो चिताउने शपथ खाएका मान्छेहरू नै लोकतान्त्रिक गणतन्त्रको पनि मन्त्री भएपछि नेपालको नयाँ संविधानको कस्तो हालत भयो होला ? यतिमात्र होइन, पञ्चायतकालमा जेल, नेल खाएकाहरू ‘राजतन्त्र तथा बहुदलीय प्रजातन्त्र’ का शासक हुन त सक्ने नै भए । तर तिनीहरूका लोभी आँखा लोकतान्त्रिक सङ्घीय गणतन्त्रतिर पनि गएपछि मुलुक असफल त हुने नै भयो नि !

अहिले जुुन कारणले सरकारलाई असफल बनाउने कोसिस गरियो, भविष्यका सरकाहरूको नियती पनि यस्तै हुनेछ । ढुक्कको बहुमतको सरकार ढाल्ने कोसिस गरियो आफ्नै पार्टीका नेताबाट ।यसमा कुनै सिद्धान्त र विचारको कारण थिएन । सदा टाउकामा बसेर प्रचण्डपथ चलाउने पुष्पकमल दाहाल प्रचण्डलाई भतभती पोलेको थियो प्रधानमन्त्री हुन नपाएर । उहाँले स्वीकार्नु पनि भएको छ– म जहाँ जान्छु, त्यसलाई ध्वस्त बनाएरै छाड्छु भनेर । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनालको समर्थन पाएर उहाँले नेकपालाई नै ध्वस्त बनाउन खोज्नुभयोे । तर जानी नजानी जनताको बहुदलीय जनवादको ज्ञानले खारिएका कार्यकर्ताहरू हिजो उहाँले खाएजस्ता मसाल र एकता केन्द्रका जस्ता छैनन । तिनीहरूलाई थाहा छ– मदन भण्डारीले छोडेर जानुभएको जनताको बहुदलीय जनवादको अहिले कुनै विकल्प छैन भनेर । जो जनताको बहुदलीय जनवादको पक्षमा छन, तिनीहरू एक ठाउँमा भेला नभई हुँदैहुँदैन ।

यस कुरालाई माधव नेपाल र केपी ओली स्वयंले बुझ्नुपथ्र्यो । हामी जस्ताले बुझेर अहिलेका बूढाहरूको दिमाग सप्रिदैनथ्यो । माधव नेपाल र केपी ओली दुवै नेताले म ध्वंश हुँ भनेर घोषणा गर्ने मान्छेलाई सिद्धान्तको डोरीले नबाँधी भित्र पस्नै दिनु हुँदैनथ्यो । सिद्धान्तहीन एकताले नै विष बोकेर आएको थियो । आफूलाई एमाले समूहको भन्ने कार्यकर्ताहरूले पनि थाहा पाउनुपर्यो–एमाले भन्ने शब्दै गलत छ । माक्र्सवाद सम्पूर्ण स्वतन्त्रताको गान हो भने लेनिनवाद भनेको अधिनायकत्वको सिद्धान्त हो । अधिनायकवाद र स्वतन्त्रता कसरी एकआपसमा मिल्न सक्छन् ?

मदन भण्डारीले खनेको बाटोबाट हिँड्दा नै हामी समाजवादको ढोकासम्म पुग्न सक्छौँ । तर यो बाटो साह्रै लामो छ । बन्दुकले ल्याएको परिवर्तन सधैँ अस्थायी र निरङ्कुश हुन्छ । सोभियत सङ्घको पतनको शिक्षा भनेको यही हो । सबै देशसँग आ–आफ्नै क्रान्तिकारी अनुभव हुन्छन । ती एक अर्कासँग मिल्नैपर्छ भनेर कतै लेखिएको छैन । मैले चिन्ता गर्ने भनेको मेरै कार्यकर्ताको मात्र हो । एउटा ठूलो समूह अहिले दुई कित्तामा बाँडिएको छ– एउटा केपी ओली र अर्को माधव नेपाल । माधव नेपालसँग आएको समूहले पुष्पकमल दाहाललाई चिन्दैन भन्दा पनि हुन्छ । प्रचण्डले कहिल्यै पनि जनकार्य गर्नुभएन । उहाँको पार्टी जनकार्य गर्ने पार्टी पनि होइन । उहाँको पार्टी छलाङ र बन्दुकमा विश्वास गर्ने पार्टी हो । उहाँका बौद्धिक नेताहरूले मेरो आलोचना गर्दै भन्नुभएको थियो– बन्दुकमा सौन्दर्यबोध नगर्ने प्रतिक्रियावादी लेखक ।’ उहाँहरूले ठीकै आलोचना गर्नुभएको हो । म बन्दुकमा मृत्युबोध मात्र गर्न सक्छु । बन्दुकमा जीवन कहाँ हुन्छ र ?

युरोपमा केही मुलुक छन, जहाँ पुलिसको कुनै भूमिका छैन । कतिपय देशका जेलहरू रित्ता छन । हामी त्यस्तो कल्पना गर्न सक्छौँ अहिल्यै ? सक्दैनौँ । राक्षसजस्तो सामन्तवाद ठिङ्ग उभिएको छ, हाम्रो अगाडि । त्यो एउटा ठूलो हत्यारा हो । दलाल पुँजीवाद पनि मान्छेको रगत खाएरै बाँचेको छ । यस्तो स्थितिमा हामीले शान्तिपूर्ण कार्यक्रम ल्याएर नेपालको उद्धार गर्नु परेको छ । (लेखक नेपाल नेकपाका नेता हुनुहुन्छ ।)
https://newsparda.com/ bata


Your Views
Related News