काठमाडौ – लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम बन्द भएको छ । रबिले टेलिभिजन छोड्दै केही समयका लागि आफु सार्वजनिक नहुने बताएका छन् । उनले केही परिस्कृत भएर आउने बाचा पनि गरेका छन् । विहिवार उनले न्युज २४ मा अन्तिम कार्यक्रम प्रशारण गरे ।

त्यती बेला उनी निकै भावुक देखिन्थे । साथै उनले ५ वर्ष सम्म काम गरेको टेलिभिजनले आफुले निर्माण गरेको कार्यक्रममा निकै मेहनत गरेर तयार पारेको रिपोर्ट प्रसारण नगरीदिएको भन्दै गुनासो पनि गरेका छन् । टेलिभिजनले उनको कार्यक्रम सेन्सर गरेको उनले जानकारी दिएका छन् । जसवाट आफुलाई निकै दुख लागेको उनको भनाई थियो ।

टेलिभिजनले प्रसारण रोकेको उनको त्यो रिपोर्ट लामिछानेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सो भिडियो हेर्दा टेलिभिजनले सेन्सर गर्नुपर्ने आवश्यकता किन परेको होला भन्ने प्रश्न उठ्छ । कार्यक्रममा त्यस्तो कुनै कुरा छैन । उनले कार्यक्रम कसरी र कुन अवस्थामा सुरु गरिएको थियो भन्ने कुरा खुलाएका मात्र छन् ।

कार्यक्रमको यात्रा संक्षिप्त रुपमा देखाएका छन् । उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।


Your Views
Related News