काठमाडौं, माघ १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समूहका प्रभावशाली नेता डा. भीम रावलको गृहजिल्ला अछाममा नै निकै कमजोर देखिनुभएको छ । रावल आफ्नै निर्वाचन क्षेत्र र जिल्लामा पकड निकै कमजोर बन्दै गएको हो ।

संसद् वि,घटनपछि नेकपामा आएको विभाजनसँगै अछामका अधिकांश नेताहरुले साथ छोडेपछि रावल जिल्लामै कमजोर बन्दै जानुभएको हो । रावल आफूलाई बलियो देखाउने अभियानमा लागेपनि जिल्लामा अवस्था निकै कमजोर बनेको तथ्यले देखाएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सामेल हुनुभएको छ ।

रावलको व्यवहार र कार्यशैलीका कारण पाका नेताहरु ओली समूहमा लागेपछि उहाँ जिल्लामा कमजोर अवस्थामा पुग्नुभएको हो । रावलले निर्वाचन लड्दै आएको अछाम निर्वाचन क्षेत्र नम्बर १ स्थायी घर भएका जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद जैशीले ओली समूहलाई साथ दिनुभएको छ । सोही निर्वाचन क्षेत्रमा घर भएका तत्कालीन एमालेका पूर्व जिल्ला अध्यक्ष कमल तिमल्सिनाले पनि नेता रावलको साथ छोडनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि ओली समूहमा लागिसक्नुभएको छ । उहाँ रावलकै निर्वाचन क्षेत्र १ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचनबाट विजयी हुनुभएको थियो । संसद् वि,घटनपछि पार्टीमा देखिएको विभाजनपछि बोहराले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको हो । रावलकै निर्वाचन क्षेत्रमा राजनीति गर्दै आएका पूर्व बिना विभागियमन्त्री भीम कडायत पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ ।

रावलकै निर्वाचन क्षेत्र नम्बर १ कै मतदाता रहेका तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव डीबी साउदले पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ । हाँनलाई नेकपाको ओली नेतृत्वको नेकपाले अछामको जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।

पूर्वसभासद् भैरे कामीले पनि प्रचण्ड–नेपाल समूहका नेता रावलको साथ छोडनुभएको छ । क्षेत्र नम्बर २ का मतदाता रहेका कामी २०६४ को संविधान सभामा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सभासद् हुनुहुन्थ्यो । यस्तै अछामको भैसोली क्षेत्रमा प्रभावशाली मानिने तत्कालीन नेकपा एमालेका नेता कटक साउदले पनि ओली नेतृत्वको नेकपालाई साथ दिनुभएको छ । पञ्चदेवल विनायक र कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिका पर्ने भैसोली क्षेत्रमा नेता साउदको बलियो पकड रहेको छ ।

विघटित प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटी र २०६४ मा तत्कालीन एमालेका तर्फबाट संविधान सभा सदस्य पदका उम्मेदवार शिवप्रसाद उपाध्यायले पनि नेता रावलको साथ छाडनुभएको छ । तत्कालीन एमालेका प्रभावशाली नेता चन्द्र बोहरा पनि ओलीको पक्षमा लाग्नुभएको छ । उहाँलाई ओली नेतृत्वको नेकपाले अछामको अध्यक्ष बनाएको छ । विभाजनपूर्वको नेकपा अछामका जिल्ला सचिवालय सदस्य भीम जनाला, एमालेका पुराना कार्यकर्ता मना अधिकारी, तत्कालीन जिल्ला विकास समिति अछामका पूर्व क्षेत्रपाल देवबहादुर कुवँर र पृथ्वी भण्डारीले पनि प्रधानमन्त्री ओलीलाई साथ दिई रावललाई बाइबाइ गर्नुभएको छ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा र उपमेयर सरिता उपाध्यायले पनि ओली नेतृत्वको नेकपा रोज्नुभएको छ । यस्तै माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका हस्ती मानिने खगेन्द्र रोकाया पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको छ । माओवादी पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याए पनि उहाँ उपेक्षामा पर्दै आउनुभएको थियो । अछाम निर्वाचन क्षेत्र नम्बर १ का झण्डै ५० प्रतिशत र क्षेत्र नम्बर २ का झण्डै ७५ प्रतिशत नेता–कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि रावल तनावमा पर्नुभएको छ । पार्टीका अधिकांश नेता–कार्यकर्ताहरुको साथ पाएपछि अछाममा ओली समूह अत्यन्तै उत्साहित भएको छ भने प्रचण्ड माधव समुह निरास बनेको छ ।

“अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हामी ५० प्रतिशत छौं । क्षेत्र नम्बर २ मा भने हामीसँग ७५ प्रतिशत नेता–कार्यकर्ताहरु हुनुहुन्छ,” ओली नेतृत्वको नेकपाका जिल्ला सचिव साउदले भन्नुभयो, “पार्टीका अधिकांश नेता–कार्यकर्ताहरु हामीसँग उभिनुभएपछि हाम्रो समूह उत्साहित छ ।”

नेकपाको भ्रातृसंस्था प्रेस संगठनको प्रभावशाली तप्का पनि ओली पक्षमा खुलेको छ । मिडिया क्षेत्रका प्रभाव राख्‍ने अधिकांश पत्रकारहरु प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको पक्षमा उभिएका हुन । तत्कालीन एमाले निकट प्रेस चौतारीबाट प्रेस संगठन, नेपालको जिल्ला सह–संयोजक भएका कृष्णबहादुर बुढा पनि ओली नेतृत्वको नेकपा र संगठनमा लाग्नुभएको छ ।

उहाँलाई ओलीनिकट पत्रकारहरुले प्रेस संगठन, नेपालको जिल्ला संयोजक चयन गरेका छन् ।अछामको ढकारी गाउँपालिकामा पकड भएका बुढालाई ओली समूहले नेकपाको जिल्ला कमिटी सदस्य पनि बनाएको छ । यसरी अछाममा सवैतिर ओली नेतृत्वको नेकपाको पकड बनेको छ भने रावल आफ्नै जिल्लामा दयनीय अवस्थामा पुग्नुभएको छ ।


Your Views
Related News