आज केही हल्का कुरा गरौँ । यो तस्वीर देखाउन चाहन्छु । सामाजीक सञ्जालमा देखिएको यो तस्वीरमा देखिएको छ त्यही एउटै बाटोमा विदेशी पर्यटकहरु जेब्रा क्रसिङको प्रयोग गरिरहेका छन् तर नेपालीहरु जेब्रा क्रसिङको बेवास्ता गरी बाटो काटिरहेका छन् । धेरै कुरा त हामी जान्दैनाैँ हामीलाई सिकाइएको छैन । नजान्नु समस्या होइन तर जानाजान बेवास्ता गर्नु चाहिँ समस्या हो । यति जाबो कुरा पनि के भनिरहनु परेको होला भन्ने लाग्दो हो तर नागरिकमा चेतना नहुँदा धेरै समस्याहरु रहिरहन्छन् ।

नियम-कानुन हाम्रो मुलुकमा पनि नभएको कहाँ हो र ? तर कडाइका साथ पालना नहुनु र नेपाल यस्तै हो भन्ने सोच राख्नुले हामी अनुशासित हुन सकिरहेका छैनाैँ । जान्दै नजानेको भन्न पनि मिल्दैन । नेपालमा कुनै नियम पालना नगर्ने नेपाली विदेश पुग्नासाथ पुरै अनुशासित हुन्छ । यो कसरी सम्भव हुन्छ । प्लेन भित्र बस्दा बस्दै बुद्धी पलाउने वा बुद्धी फिर्ने त होइन होला । हाम्रो हेपाहा प्रवृती यसको प्रमुख कारक हो ।

एउटा भिडियाे हेरेको हो वा कतै पढेको हुँ, यकिन छैन तर कुनै एक देशको सार्वजनिक बसमा चडेकी महिलाले आफ्नो अगाडीको सिटको कपडाको कभर अलिकति उध्रिएको देख्छीन । उनको व्यागमा सियो धागो हुन्छ, उनि आफ्नो गन्तव्यमा ओर्लीनु अघि केही मिनेट सयम दिएर सार्वजनिक बसको सिट कभर सिलाई दिन्छीन् । हामी कहाँ यस्तो चेतना कहाँ ? सानो प्वाल सिटमा देखेपछी एउटाले आँैला पसाएर त्यसलाई आफ्नो गन्तव्यमा पुग्नु अगावै ठुलो भ्वाङमा परिणत गरिदिन्छ । त्यसपछी चड्नेले यत्रो भाग निकाली सक्छ,त्यसपछी चड्नेले आफ्नो नामको अल्फावेट प्लस मनपरेकी कुनै युवतीको नामको अल्फावेट लेख्न भ्याइसक्छ, त्यसपछि चड्नेले कि त चुइङगम टासिदिन्छ किन खैनी, सुर्ती, मुखबाट निकालेर त्यही राखिदिन्छ ।

यो शिक्षा र संस्कार हामीले घरमा, विद्यालयमा वा समाजमा पढाउन पाएकै छैनौँ । यदि कसैले यस्ता सामान्य नियमलाई पालना गर्यो भने उ कागको हुलमा बकुल्ला बन्दछ । नियम पालना गर्दा कार्टुन बनिन्छ । हुनु पर्ने यसको ठिक उल्टो हो । नियम नमान्ने, अनुसासनमा नबस्ने मानिस कार्टुन बन्नु पर्नेमा नियम मान्नेलाई उडाइन्छ । थाहा छ तर गरिदैन ।सार्वजनिक स्थानमा नाक कान कोट्याउन नहुने सम्मको चेतना निकै पढेलेखेकाहरुमा समेत देखिदैन भने सिक्न र सिकाउन कहाँबाट शुरु गर्ने , पत्तो छैन । तर यत्ती सुनेपछी अलिकति भएपनी कन्सीयस भइदिए केही मासिनहरु भने पनि राम्रो हो । सार्वजनिक शौचालयहरुबाट साबुन,ट्वाइलेट पेपर मात्र होइन धाराको टुटी नै निकालेर लैजाने सम्मको हर्कत हुन्छ । ढोका, लिफ्ट वा बाटोमा पहिला आँफै जानु पर्ने, कहिल्यै अरुलाई यसो हाँसेर जानुस न भन्न नसक्ने, शायद विश्वमा अब हामी मात्रै बाँकी छौ कि । सामान्य अवस्थामा अरुलाई पहिला जान दिदा जम्मा २ सेकेटण्ड जति आँफुलाई ढिला हुने हो ।

तर हामीलाई जति हतार यो दुनियामा कसलाई छ र । यो हतार त शहरका सडकहरुमा पो देखिन्छ । २ मिनेट कुर्न नसक्दा २ घण्टा जाममा परेको हामीले कहिले बुझ्ने ? अर्को छिर्ला भनेर झिंगाको टाउको जत्ती पनि ग्याप नछोडी तनावग्रस्त अनुहारमा असिना पसिना सवारी चालकहरु शहरभरी छन् । कसले कहिले कहाँबाट पढाउने र सिकाउने हो, थाहा छैन ।

सबैभन्दा ठुलो विजोग त कुनै रेष्टुराँमा खाना खाई सकेपछी देखिन्छ । खाना खाई सकेर जब विल तिर्ने बेला हुन्छ, ठ्याक्कै त्यती नै बेला सबलाई पिसाबले च्याप्छ, कि त फोन गर्नु पर्ने हुन्छ, कि त नदेखे जस्तो गरी फोन चलाउनु पर्ने अवस्था हुन्छ । कतिपय प्रोफेसनल बिल छल्नेवालाहरुको टाइमिङ नै तगडा । भाई विल पाउ त भनेको कति मिनेटमा विल आउँछ भन्ने हिसाव गरेरै पिसाब फेर्न तिर लाग्छन् । अनि केहीको बानी चाँही म दिउ भनेर यसो पछाडी पर्स तिर हात लगेजस्तो चाँही गर्ने तर तिर्ने नियत अनुहारमा चाँही नदेखिने । हुन्छ तपाई नै तिर्नुसन त भनियो भने एम्बुलेन्स बोलाउनु पर्ला जस्तो एक्सप्रेशन । यत्रो नाटक किन गर्छौँ हामी ? सबैले मिलेर तिरे कसैलाई भार नै पर्दैन । त्यसमाथी कसले खुवाउने हो पहिले नै मेक स्योर गरेर गए टेन्सन नै हुँदैन र पैसा नुहुनेले आज म विलमा सहयोग गर्न सक्दीन है साथी हो भने भै त हाल्छ । यत्रो भागाभाग नाटक किन गर्छाैँ हामी ।यस्ता केही सामान्य तर जरुरी कुरा हामीले सिक्नै पर्छ । कोही कोही चाँही फेरी म तिरौँ चाही भन्ने तर प्राण गए जीवनमा नतिर्ने खालका पनि हुन्छन् । हामी मध्ये धेरै त्यो नतिर्ने साथीको अनुपस्थीतीमा उसको बर्षौँ खुब कुरा काट्छौँ । वर्षौसम्म यो टेन्सन लिनु भन्दा तेस्रो पटकसम्म नतिर्दा सिधै आज तपाईले तिर्नु पर्ला भनिदिउ, प्रोबलम सल्भड । कहिलकाँही यस्तो हल्का कुरा पनि गर्नू पर्छ, कसो ?

SORCE:News24nepal


Your Views
Related News