इटहरी– नेपाल तरुण दल सुनसरीले डेंगुको महामारी नियन्त्रणका लागि डेंगु नियन्त्रण गर्ने औषधि छर्कने काममा जुटेको छ । धरानबाट डेंगुको संक्रमण शुरु भइ हजारौं व्यक्ति संक्रमित भएको र केही व्यक्तिले ज्यान समेत गुमाईसकेका छन् । सोही अवस्थालाई ध्यानमा राखेर तरुण दल डेंगु नियन्त्रणमा तातेको हो । तरुण दलले शनिवार इटहरी उपमहानगरपालिका–३ मा डेंगु नियन्त्रण गर्ने औषधि छर्किएको छ ।

डेंगु प्राणघातक रोग भएको र यो तिब्र हिसाबले महामारीको रुपमा फैलिएकोले समाज र नागरिकप्रतिको जिम्मेवारी बोध गर्दै यसको नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले डेंगुको औषधि छर्कने कार्य पुनः सुचारु गरिएको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले बताए ।

यसअघि पनि नेपाल तरुण दल सुनसरीले इटहरीको वडा नम्बर २० मा डेंगुको औषधि छर्किएको थियो । तरुण दल सुनसरीले डेंगुको औषधि छर्कन थालेपछी इटहरी उपमहानगरपालिकाले पनि डेंगु नियन्त्रणका लागि औषधि छर्कने बताए पनि इटहरीका पुरै वडामा औषधि छिट्ने कार्य नभएपछी पुन आफुहरु डेगुको औषधि छर्न लागिपरेको अध्यक्ष गुरुङ्गले बताए ।

डेंगुको नियन्त्रण गर्न अब क्रमिक रुपमा इटहरीका सबै वडा र डेंगु प्रभावित क्षेत्रमा नियमित औषधि छर्कने तरुण दल सुनसरीका सह–सचिव मिलन त्रितालले बताए । यसैक्रममा आज इटहरीको ५ मा डेंगुको औषधि छर्कने कार्यक्रम रहेको नेपाल तरुण दललले जनाएको छ । तरुण दलको यो कार्यलाई जनताले तारिफ समेत गरेका छन् ।


Your Views
Related News