१९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता जनाएका छन् ।विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने आश्वासन दिएका हुन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल कुनै पनि हालतमा बन्ने बताए । ‘विमानस्थल निर्माणका सम्बन्धमा उठेका गुनासो सम्बोधन हुन्छन्, कमभन्दा कम वातावरणको क्षति हुन्छ,’ उनले भने, ‘तर विमानस्थल बन्छ ।’

सरकारले वन मास्ने उद्देश्यले यो विमानस्थल बनाउन नथालेको उनले स्पष्ट पारे । समितिमा सांसद सरिता गिरीले नेपालमा ठूला परियोजनाको औचित्य नरहेको भन्दै स–साना विमानस्थल मात्र बनाउनु पर्ने सुझाव दिएकी थिइन् ।

उनको सुझावमा प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प खोज्न नहुने बताए । अनेकौं अध्ययनले यो स्थान छनोट गरेको भन्दै निजगढ विमानस्थल नेपालको अर्थतन्त्र विकासका लागि ठूलो अवसर भएको बताए ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा केवल टाउको गन्ने काम मात्र नहुने भन्दै पर्यटन विकासको आधार वर्षका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो लागि संख्या महत्वपूर्ण विषय होइन,’ उनी भन्छन्, ‘पूर्वाधार विकासमा हामी केन्द्रित हुन्छौं ।’

मन्त्री भट्टराईले यसै वर्ष राजविराज, भरतपुर र सुर्खेत विमानस्थललाई रात्रीकालिन उडानका लागि योग्य बनाउने प्रतिवद्धता व्यक्त गरे । पोखरा र भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढेको भन्दै उनले नेपाल–भारत सीमाबाट नयाँ इन्ट्री रुट सञ्चालनका लागि सैद्धान्तिक तयारीको काम सम्पन्न भइसकेको जानकारी गराए ।

मन्त्री पद आफ्ना लागि नयाँ रहेको भन्दै उनले काम गर्दा गल्ती भए सच्याउने मौकाको अपेक्षा गरे । मन्त्रालयमा कर्मचारीहरुबाट तीन÷चार दिनकै अन्तरमा धेरै सिकेको भन्दै सबैको सहकार्यबाटै आफू अगाडि बढ्न चाहेको उल्लेख गरे ।


Your Views
Related News