काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएको छ।

८ जना मन्त्री र २ राज्यमन्त्रीसहित उक्त पक्ष सरकारमा सहभागी हुन लागेको स्रोतको भनाइ छ। मन्त्रीहरुको शपथ आजै गर्ने तयारी गरिएको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीलाई निरन्तर समर्थन गर्दै आएको महन्थ राजेन्द्र पक्ष महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने गृहकार्यमा जुटेको थियो।

सरकारले जसपाका अधिकांश माग सम्बोधन गरेको, कतिपय माग सम्बोधनको प्रक्रियामै भएकाले सबै माग पूरा हुने सुनिश्चित भएका कारण सरकारमा सहभागी हुन लागिएको एक नेताले बताए।

जसपासँगको सहमतिपछि सरकारले संविधान संशोधन कार्यदल समेत बनाइसकेको छ। कार्यदलमा सरकारी पक्षबाट विष्णु रिमाल, अग्निप्रसाद खरेल र कृष्णभक्त पोखरेल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्। कार्यदलले सकारात्मक निर्णय गरे सरकारमा जान जसपालाई सहज हुनेछ।

सरकारमा जाने विषयमा पार्टीमा एकमत भएकाले सबै माग सम्बोधन हुने अवस्थामा पुगेपछि टुंगो लाग्ने जसपाका एक सांसदले दाबी गरे। सरकारमा जाने अवस्था आएमा राजेन्द्र महतोको नेतृत्वमा जाने नेताहरुले बताएका छन्।


Your Views
Related News