गुल्मी,२०साउन । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेको तुरतुरे ताल फुटेर लोकमार्ग नै बगाएको छ । उक्त ताल फुट्दा पानीको बहावले सडक बगाएपछि यातायात सेवा समेत अवरुद्ध बनेको छ । ताल खुल्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको करिब १० मिटर सडक पूर्ण रुपमा बगाएको र करिब ५० मिटर सडक आंशिक रुपमा भत्काएको स्थानीय बासीन्दाले बताएका छन् ।

गत वर्ष भदौंमा फहाड खसेर थुनिएको बडिगाड नदीमा बनेको ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी स्थानीय तहले काम अगाडि बढाइरहेका थिए । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । सो तालमा पर्यटन व्यवसायीहरुले याफ्टिङ सञ्चालन गरी नियमित आम्दानी गर्दै आइरहेका थिए ।

तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेको स्थानीयले बताएका छन् । तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको स्थानीय बताए । ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । तालको पानी बग्न थाले पनि कुनै मानवीय क्षती भने भएको छैन । तर पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाइ छ ।

तत्कालिन समयमा तालको अध्ययन गर्न गएको विज्ञ टोलीले नदीमा ठूला ढुङ्गा आएर बसेकाले तत्काल ताल फुट्ने सम्भावना नभएको र फुटाउँन समय लाग्ने भन्दै त्यसै फर्किएको थियो । ‘हिजोको रातीको वर्षासँगै आएको बाढीले तुरतुरे ताल फुटेर तटिय क्षेत्रको सडक नै बगाएको छ ।’ एक स्थानीयले बताए । ।


Your Views
Related News