काठमाडौं । केही दिन देखि बेपत्ता भनिएका सरकारी जग्गा व्यक्तिको नाममा गराउने मालपोत कार्यालय बाँके र बर्दिया जिल्लाका ६ जना कर्मचारी पक्राउ परेका छन् । बाँके प्रहरीको सर्वाधिक खोजीमा रहेका आठ जनामध्ये ६ जना कर्मचारीलाई बाँके प्रहरीले काठमाडौंमा पुगेर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका प्रहरी नायव निरीक्षक मणि आचार्यको टोलीले काठमाडौं गएर प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल, मालपोत अधिकृतद्वय हेमराज शर्मा र कृष्णप्रसाद उपाध्याय, नासु रविन्द्र थापा, खरिदार ईश्वरीप्रसाद रिजाल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्यायलाई पक्राउ गरेको छ ।

अन्य दुई जना अझै फरार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजि गरिरहेको छ । पक्राउ परेका प्रमुख मालपोत अधिकृतसहितका ६ जना कर्मचारीलाई आज नेपालगञ्ज पठाउने बाँकेका एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो ।

नेपालगञ्जको कारकादोमा रहेको सिक्टा सिंचाई आयोजनाको ५ कठ्ठा १६ धुर, नेपालगञ्जको हनुमान गौशालाको ५ कठ्ठा १३ धुर र बर्दियाको नेउलापुरमा रहेको ६ विगाह जमिन यी कर्मचारीको मिलोमतोमा व्यक्तिको नाममा पास गरिएको थियो । व्यक्तिको नाममा गराउन सहयोग गर्ने अरु २१ जना कर्मचारीलाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ ।


Your Views
Related News