काठमाडौं । सीजी कम्युनिकेसन्सले मंगलबारबाट काठमाडौं उपत्यकामा सस्तो दरमै इन्टरनेट सेवा सुरु गरेको छ।

कम्पनीले ‘सीजी नेट’ ल्याएको हो। सीजीको नेट हाल नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा पाइने छ।

कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ।

तत्काल लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवाको फाइदा उठाउन सक्नेछन्। १२ महिनाभित्र उपत्यकाका सबै ठाँउमा सेवा उपलब्ध हुने कम्पनीले बताएको छ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ। त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ।

कम्पनीले १२० एमबीपीएसको लागि इन्टरनेटको १ महिनाका लागि ९ सय ९९ रुपैयाँ, ३ महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँ, छ महिनाको लागि ५ हजार ९ सय ९४ रुपैयाँ, १ वर्षको लागि ११ हजार ९ सय ८८ रुपैयाँमा इन्टरनेट जडान गर्ने सुुरुवाती अफर गरेको छ।

उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रमहोम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदानगर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए।

सबैभन्दा छिटो र सस्तो नाराका साथ इन्टरनेट सेवा सुरु गरेको सीजीले जनाएको छ।


Your Views
Related News