२२ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना केही योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य ‘फोकस’ चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ ।मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्‍याए । उनले आत्मविश्वासपूर्वक भने, ‘मैले बोलेकै काम गर्नका लागि हो, काम नगर्ने भए म बोल्ने नै थिइनँ ।’

१५ साउनमा पहिलोपटक मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री भट्राई हरेक दिनजसो नेपाल वायुसेवा निगमका उच्च तहका अधिकारीसँग छलफलमा बसेका छन् । जानकार व्यक्तिहरुसँग निगम सुधारको उपायबारे सुझाव मागिरहेका छन् ।मन्त्री भट्टराई भन्छन्, ‘म भरुवा बन्दुक देखाएर तर्साउन मात्र आएको होइन, सिधै निसाना लगाउने हो ।’

मन्त्री भट्टराईले बुधबार नै एक समिति गठन गरेका छन् । पर्यटन मन्त्रालयमा समेत काम गरिसकेका पूर्वसचिव सुशील घिमिरेलाई समितिको संयोजक बनाइएको छ ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिम प्रसाद पौडेल र पाइलट सुधीर शम्शेर राईलाई सदस्य सचिव तोकिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

दर्जनौं अध्ययन शून्य उपलब्धी

नेपाल वायुसेवा निगम हरेक सरकारको मूख्य एजेण्डा हुन्छ । यसैलाई राजनीतिक नारा बनाएर आफ्नो दूनो सोझाउने नेतृत्व धेरै आए । यी सबै नेतृत्वभन्दा मन्त्री भट्टराई कति फरक देखिनेछन् त्यो त समयले नै बताउला ।

निगमको सुधारका लागि यसअघि पनि दर्जनौं अध्ययन भएका छन् । कतिपय अध्ययन सार्वजनिक भएका छन्, कति गुपचुप छन् । यी सबै अध्ययन प्रतिवेदनलाई समितिले सुक्ष्म रुपमा केलाउने मन्त्री भट्टराईले आश्वस्त पारे । उनका अनुसार आजसम्म भएका सबै अध्ययन प्रतिवेदनलाई विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ ।

यसबाहेक निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम व्यवसायीक क्षमतामा रहेका समस्या पहिचान र विश्लेषण गनर्ेे जिम्मेवारी दिइएको छ । मन्त्री भट्टराई अब कुनै पनि बहानामा नेपाल एयरलाइन्सलाई पछाडि छाडेर जान नसकिने तर्क गर्छन् । ‘कुन विकल्पमा जाँदा निगमको गरिमालाई बचाउन सकिन्छ, हामी त्यतै जाने हो,’ उनी भन्छन् ।

मन्त्री अधिकारीले नेपाल एयरलाइन्सको वर्तमान अवस्थालाई बन्द कोठाको उकुसमुकुसको संज्ञा दिए । उनी भन्छन्, ‘अब भेन्टिलेस खोल्ने हो, कहाँबाट कसरी सुरक्षित रुपमा खोल्न सकिन्छ भन्नेबारे समितिले सुझाव दिनेछ । किनकी विनाअध्ययन खोल्दा भोली दूर्घटना नहोस भन्नेमा सचेत हुनु पर्नेछ ।’

एक महिनापछि एक्सन

मन्त्री भट्टराईले ताकेको निसानामा तीर हान्ने काम भने १ महिनापछि थाल्ने जानकारी गराएका छन् ।

‘बुँदागत रुपमा सुझाव मागेका छौं, त्यो आएपछि हामी काम थाल्छौं । एक महिनापछि एक्सन शुरु हुन्छ,’ उनले भने ।

यसबीचमा भएका जहाजको अधिकतम उपयोग, नेवानिको व्यापारिक योजना निर्माणमा केन्दि्रत हुन उनले निगमका कार्यकारी अध्यक्षसहित व्यवस्थापनलाई निर्देशन दिइसकेका छन् ।

निगमले पर्यटन मन्त्रीमा भट्टराई नियुक्ति भएकै भोलीपल्ट मन्त्रीको गृहजिल्ला ताप्लेजुङको सुकेटार विमानस्थलमा परीक्षण उडान गर्‍यो । मन्त्री आउनासाथ परीक्षण उडान गर्न सकिने भए उपलब्ध जहाज पूर्ण क्षमतामा उडाउन किन नसकेको त ?

निगमका एक उच्च अधिकारी भने यसलाई संयोगमात्र मान्छन् । क्रमशः चिनियाँ जहाज उडाउने गरी शुरु भएका योजना अनुसार नै दूर्गम भेगमा सेवा पुनः सूचारु गर्न लागिएको हो ।

विमानस्थलका थोत्रा बस फेरिने

नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलमा ग्राउण्ड हृयाण्डिलिङको पनि काम गर्छ । त्यस क्रममा जहाजबाट उत्रिएका यात्रुलाई आगमन टर्मिनलसम्म ल्याउने र उनीहरुको ब्यागेज ल्याउने जिम्मेवारी निगमको हो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलमा निगमसँग रहेका सबै पुराना र थोत्रा बस विस्थापित गर्न व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

‘विमानस्थल देशको ऐना हो, संसारकै सबैभन्दा महंगो मानिने हवाई गन्तब्य झरिसकेपछि थोत्रा बसमा झुण्डिनु पर्ने ?’ मैले ती बस फेर्न निर्देशन दिइसकेको छु,’ मन्त्री भट्टराईले भने ।


Your Views
Related News