८ असार, काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरि खुलेको हो ।

सरकारका निर्णयहरु यस्ता छन्
“नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/१/१९ को निर्णयानुसार सङ्क्रा’मक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भई मिति २०७८/१/२७ को निर्णयानुसार निरन्तरता दिइएको आदेशमा देहायबमोजिम हेरफेर तथा संशोधन गरी सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्ग गरी प्रकाशन गर्ने-

१. दफा १ को सट्टा देहायको दफा १ राख्ने :-
१. जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभए सम्मको लागी कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गराउने ।

२. दफा ३क. को सट्टा देहायको दफा ३क. राख्ने :-
३क. जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी नेपाली वायुसेवा र सम्बन्धित देशका वायुसेवाहरूबाट देहायबमोजिम नियमित दुईतर्फी अन्तर्राष्ट्रिय उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने। अन्य व्यवस्था नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१/२७ को निर्णयानुसार यथावत लागू हुने।

काठमाडौं – दोहा रुटमा नेपाली वायुसेवाको २ (दुई) उडान र कतारको वायुसेवाको २ (दुई) गरी हप्तामा ४ (चार) उडान
काठमाडौँ – ईस्तानबुल रुटमा टर्कीको वायुसेवा बाट हप्तामा २ ( दुई) उडान
काठमाडौँ – दुबई रुटमा नेपाली वायुसेवाको २ (दुई ) उडान र संयुक्त अरब ईमिरेट्स बाट काठमाडौँ सम्बन्धित मुलुकको वायुसेवाको २ ( दुई ) गरि हप्तामा ४ ( चार ) उडान
काठमाडौँ – दमाम रुटमा नेपाली बासुसेबाको हप्तामा २ (दुई) उडान
काठमाडौ – कुबेत सिटी रुटमा कुबेतको वायुसेवा बाट हप्तामा २ ( दुई ) उडान
काठमाडौं – मस्कट रुटमा ओमानको वायुसेवा बाट हप्तामा १ (एक) उडान
काठमाडौं – क्वालालम्पुर रुटमा नेपाली वायुसेवाको २ (दुई) उडान र मलेसियाको वायुसेवाको २ (दुई) गरी हप्तामा ४ (चार) उडान
काठमाडौं – सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ (एक) उडान
काठमाडौं – टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ (एक) उडान।
काठमाडौँ – छेन्दु र काठमाडौं – ग्बाङजाओ रुटमा नेपाली वायुसेवाको १/१ (एक/एक) र चीनको वायुसेवाको १/१ (एक/एक) गरी हप्तामा २/२ (दुई/दुई) उडान।”


Your Views
Related News