इटहरी- घरको छतमा पहेँलो रङको गाडी। दोस्रो तलामा स्वर्गीय राजा वीरेन्द्रको सालिक।

पहिले आफ्नो पेसाले चिनिन्थे बाबुराम प्रधान। अहिले यही गाडी र सालिकका कारण उनको परिचयको आयाम फराकिलो बनेको छ।

इटहरी चोकदेखि एक किलोमिटर पश्चिममा पर्छ, बाबुरामको घर। ‘गाडी भएको घर वा राजा वीरेन्द्रको सालिक भएको घर भनेपछि मात्र त्यसपछि बाबुराम भन्ने नाम आउँछ,’ उनी हाँस्दै भन्छन्।

यो सालिक उनी आफैले बनाएका भने होइनन्। २०४३ सालमा इटहरी गाउँ पञ्चायतले सालिक निर्माण गरेको थियो। तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बा उक्त सालिक अमर चित्रकारले ६ महिना लगाएर तयार पारेको बताउँछन्। त्यो बेलामा पनि ५ लाख रुपैयाँ दिएर सालिक बनाउन लगाएको उनको भनाइ छ।

२०६२/६३ सालको आन्दोलनको निसाना बन्यो यो सालिक। ढालिएर बेवारिस बनेको सालिकलाई अहिले बाबुरामले संरक्षण गरिराखेका छन्।

०६२/६३ सालको १९ दिने जनआन्दोलन उत्कर्षमा थियो। सात दल र तत्कालीन नेकपा माओवादी समेतको आन्दोलन चर्किइरहेको थियो। इटहरीमा बिहान, दिउँसो र साँझ गरी तीन चरणमा प्रदर्शन भइरहेको थियो।

दिउँसो हुने आन्दोलनको नेतृत्व विद्यार्थी नेताहरुले गरेका थिए। त्यही बेला ‘शाही शासन मुर्दावाद’ भन्दै नारा घन्किन थाल्यो। राजा वीरेन्द्रको सालिकमा विद्यार्थी नेताहरुको आँखा परिहाल्यो। उक्त आन्दोलनको नेतृत्व अनेरास्ववियुकी नेतृ मन्जु भण्डारीले गरेकी थिइन्। उनैले सालिक भत्काउनका लागी माहोल बनाइन्। त्यतिकैमा ह्याम्मर भेला पार्न केही विद्यार्थी नेताहरु जुटे। ज्यावलहरु भेला पारियो।

नेतृ भण्डारीसहित केही नेताहरु सालिक भएको क्षेत्रमा प्रवेश गरे। इटहरी चोकमै रहेको सालिकलाई तारबार लगाएर सुरक्षित राखिएको थियो। तर उग्र बनेको युवा जमातलाई काँडेतारले छेक्न सकेन। बार फोरेर आन्दोलनकारी समूह भित्र प्रवेश गर्‍यो। सुरुमा उनै भण्डारीले सालिकमा हम्बर हानिन्। ‘आफैले नेतृत्व गरेको भएर सुरुमा मैले नै हम्बर प्रहार गरेँ,’ उनी सुनाउँछिन्।

त्यसपछि सालिक फोर्ने काम सुरु भयो। कंक्रिटबाट निर्माण भएकाले फोड्न लामो समय लागेको उनको भनाइ छ। हाल उनी धरान उपहानगरपालिकाकी उपमेयर छिन्।

सालिक फोडेको हेरिरहेका बाबुरामले यसलाई यतिकै छाड्न हुन्न भन्ने सोचिसकेका रहेछन्। ‘सालिक बनाउँदा म आफैले देखेको थिएँ। त्यसैले भत्काउँदा मन भारी भएर आयो,’ उनी भन्छन्, ‘त्यही बेला उठाएर लैजाने अवस्था थिएन। तर पछि कुनै न कुनै बेला घरमा लगेर राख्नेबारे सोचिसकेको थिएँ।’

लामो समयसम्म पनि सालिकतिर कसैको ध्यान गएन। तर बाबुरामको मनमा भने कसो गरुँ, के गरुँ भइरहेको थियो। इटहरी नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत पुष्प निरौलालाई आफू सालिक लान राजी भएको कुरा उनले सुनाए। निरौलाले पनि बिना हिचकिचाहट स्विकृति दिए।

तर, घरमा सजाएर राख्दा समस्या हुने भएपछि बाबुरामले कोठामा लगेर राखे। २०७० सालमा मात्र उनले घरबाहिर व्यवस्थित गरेका हुन्।

तर पनि उनले सुख पाएनन्। सालिक राखेको केही दिनमै हटाउन दबाब आयो। ‘किन राखेको, हटाउनुपर्‍यो भन्दै धेरै पटक नेताहरुले घरैमा आएर दबाब दिए,’ उनी भन्छन्, ‘राजा वीरेन्द्रलाई दुनियाँले मनमा राखेका छन्। पहिला तिनीहरुको मनबाट हटाउनुहोस्। अनि म सालिक हटाउँछु भनेपछि दबाब दिने छाडे।’

अहिले पनि उनलाई राजा वीरेन्द्रको सालिक घरमा राखेकोमा गर्व महसुस हुन्छ।

‘मलाई विश्वास छ, राजा वीरेन्द्र भगवान् विष्णुकै अवतार हुन्। मैले बाल्यकालदेखि नै लोकप्रिय राजाको रुपमा चिनेको हुँ। पछि उनको वंशनाश भयो। त्यसले मलाई निकै दु:खी बनाउँछ,’ वीरेन्द्रका ‘डाइहार्ड फ्यान’ रहेका बाबुरामले भने। उनले सालिकलाई घरको पूर्वोत्तर दिशामा पर्ने विष्णुको मन्दिरतिरै फर्काएका छन्।

अहिले सालिकको रङ केही खुइलिएको जस्तो देखिन्छ। तर केही दिनमै रङरोगन गरेर थप सजाएर राख्ने उनको योजना छ।

उनले घरको छतमा पनि पहेँलो रङको गाडी पनि राखेका छन्। इटहरीमा अन्डरग्राउन्ड ड्राइभिङ सेन्टरको सञ्चालकसमेत रहेका उनी २० वर्षदेखि त्यही पेसामा छन्। छतमा जुन गाडी राखेका छन्, उनले व्यावसायिक प्रयोजनमा किनेको पहिलो गाडी त्यही हो।

त्यही गाडीको कारण दैनिकीमा परिवर्तन भएकोले त्यसलाई सम्मान गरेको उनको भनाइ छ। ‘त्यसैले गाडीलाई सदैव शिरमा राखेको हुँ।

त्यो बेला मैले गाडी बेचेको भए १५ हजार रुपैयाँ आउँथ्यो होला। छतमा राखेर त्यसैको आशीर्वादले १५ लाख कमाइसकेँ,’ उनी भन्छन्, ‘मलाई विश्वास छ, म त्यही गाडीको आशीर्वादले आज यो स्थानमा पुगेको हुँ।’


Your Views
Related News