साउन २६, २०७६
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले शनिवार नयाँ हतियार प्रणालीको परीक्षणको निगरानी गरेका छन् । विगत केही दिनयता उत्तर कोरियाले अमेरिकासँग सम्झौताका लागि आफूलाई मजबूत बनाउन विभिन्न किसिमका हतियार परीक्षण गरिरहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमले आफूसँग फेरि एकपटक भेटेर आणविक हतियार सम्झौतालाई शुरू गर्ने इच्छा व्यक्त गरेको भनी बताएको केही घन्टापछि हतियार परीक्षणको खबर आएको हो ।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास सकिएपछि उक्त सम्झौतावार्ता गर्न उनले चाहेको र हालै गरिएका छोटा दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणका लागि माफी मागेको ट्रम्पले बताएका थिए ।

उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले आइतवार एक वक्तव्य जारी गर्दै अमेरिकासँग सैन्य अभ्यास जारी राखेको भन्दै दक्षिण कोरियाको आलोचना गरेको छ । भविष्यको संवाद दुई कोरियाबीच नभई प्योङयाङ र वाशिङटनबीच मात्र हुने वक्तव्यमा उल्लेख छ ।

शनिवार गरिएको परीक्षणप्रति किमले ठूलो सन्तुष्टि जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनायो ।

परीक्षण गरिएका हतियार ब्यालिस्टिक क्षेप्यास्त्र थिए कि रकेट आर्टिलरी थिए भन्ने कुरा संस्थाले खुलाएन । तर तिनीहरूले उत्तरको भौगोलिक परिस्थिति अनुकूल भएको र यिनले अहिले उपलब्ध हतियार प्रणालीभन्दा फरक र थप फाइदाजनक रणनीतिक चरित्र देखाएको उल्लेख गर्‍यो ।


Your Views
Related News