काठमाडौं- सरकारले राष्ट्रपतिसहित उच्च पदस्थ राजनीतिक व्यक्तिहरूको तलब नबढाउने देखिएको छ। चालु आर्थिक वर्षमा कर्मचारीको तलब बढाएको सरकारले राष्ट्रपतिसहित उच्च पदस्थ राजनीतिक व्यक्तिहरुको तलब बढाउने प्रस्ताव नै गरेको छैन।

आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा पनि अर्थ मन्त्रालयले उच्च पदस्थ अधिकारीहरुको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव हरिशरण पुडासैनीले अहिलेसम्म उच्च पदस्थ व्यक्तिको तलब सुविधा वृद्धिको प्रस्ताव नगरिएको बताए। ‘अहिलेसम्म त्यस्तो प्रस्ताव अघि बढेको मेरो जानकारीमा छैन,’ उनले भने।

बजेटबाट राजपत्रांकित कर्मचारीको तलब १८ प्रतिशत र राजपत्रअनंकित कर्मचारीको तलब २० प्रतिशतले वृद्धि गरिएको छ। उनीहरुको वृद्धि भएको तलब संरचना तय भए पनि उच्च पदस्थ राजनीतिक व्यक्तिको तलब वृद्धिबारे अहिलेसम्म प्रस्ताव नै अघि बढाइएको छैन।

सरकारले प्रस्ताव अघि नबढाएसँगै अराष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा सांसदहरु र संवैधानिक निकायका अध्यक्ष एवं सदस्यहरुको तलब बढ्नेछैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले पनि उच्च पदस्थको तलब वृद्धिबारे अहिलेसम्म प्रस्ताव नै प्राप्त नभएको जनाएको छ। ‘यसबारे प्रस्ताव आएकै थाहा छैन,’ स्रोतले भन्यो।

साविक तलबमान अनुसार राष्ट्रपतिको तलब १ लाख ५० हजार रुपैयाँ छ। यसैगरी प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ छ।


Your Views
Related News