प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

स्रोतका अनुसार ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन्। सोसँगै ऊर्जामन्त्री भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग गरिसकेकी छिन्।

कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिएका थिए।

उनी बाहिरिएपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

पछि मन्त्रिपरिषदले उनको ठाउँमा तत्कालीन समयमा प्राधिकरणअन्तर्गतकै एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका दोस्रो वरीयताका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

ऊर्जामन्त्री भुसाल कुलमान घिसिङलाई नै ल्याउन चाहन्थिन्। यस्ताेमा प्रधानमन्त्री देउवाकाे निर्देशन आएकाे हाे।

उनले केही दिनअघि पत्रकारसँगको परिचयात्मक कार्यक्रममा आफू माओवादीबाट छैटौँ ऊर्जामन्त्री भएको र पहिलाका मन्त्रीहरुले गरेको कामलाई निरन्तरता दिने बताएकी थिइन्।

त्यसको लागि उनले ऊर्जा क्षेत्रमा राम्रो काम गर्ने टिम तयार गर्नुपर्ने मनसाय व्यक्त गरेकी थिइन्। जसअनुसार कुलमान घिसिङ उनको प्राथमिकतामा थिए।

मन्त्रालयले राजीनामा मागिसकेपछि शाक्यले के गर्लान् भन्ने चासाे बढेकाे छ।


Your Views
Related News