काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ ।अहिलेका प्राधिकरण प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर फेरि घिसिङलाई ल्याउने तयारी सरकारले गरेको हो ।

घिसिङलाई प्राधिकरणमा ल्याउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई बोलाएर आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।त्यसपछि मन्त्री भुसालले अहिलेका कार्यकारी निर्देशक शाक्यलाई मार्गप्रशस्त गर्न निर्देशन दिइसक्नुभएको छ ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी प्रमुख बनाउने तयारी गरेपछि सामाजिक सञ्जालहरुमा सरकारको प्रशंसा भइरहेको छ ।जनताको चाहना र घिसिङको क्षमताको कदर गर्दै सरकारले उहाँलाई फेरि प्राधिकरण प्रमुखको जिम्मेबारी दिने तयारी अघि बढाएको सत्तारुढ नेताहरुले बताएका छन् ।

कांग्रेस नेतृ डा. डिला संगा्रैलाले उतिबेला पनि घिसिङलाई फेरि नियुक्त गर्न आफूहरुले सदन र सडकमा उठाएको आवाज ओली सरकारले लत्याएको टिप्पणी गर्नुभयो ।श्रोतका अनुसार आगामी भदौ १ गते पछि घिसिङलाई प्राधिकरणमा ल्याउने गरी तयारी अघि बढाइएको छ । भदौ १ गते प्राधिकरणको ३६ औँ वार्षिक उत्वस पनि हो ।

विद्युत् व्यवस्थापनमा ख्याति कमाएका घिसिङलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिँदा सरकारको लोकप्रियता बढ्ने आँकलनसहित उहाँलाई पुनःनियुक्त गर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगको हो ।तर प्रमुख विपक्षी दल नेकपा एमालेले अघिल्लो सरकारले गरेका नियुक्तीहरु कानुन विपरीत खारेज गरिए कानुनी प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

एमाले सचेतक विशाल भट्टराईले उपयुक्त व्यक्तिलाई रिक्त रहेको उपयुक्त स्थानमा जिम्मेबारी दिने कुरा ठिकै भए पनि काम गरिरहेका व्यक्तिलाई गैरकानुनी रुपमा हटाइए पार्टीको समर्थन नरहने बताउनुभयो ।

यद्यपि कुलमान घिसिङ योग्य प्रशासक रहेको कुरामा भने कुनै शंका नरहेको भट्टराईले बताउनुभयो । तर एउटा योग्य व्यक्तिलाई कानुन विपरीत हटाएरु हटाएर अर्काे योग्य व्यक्तिलाई स्थान दिन भने नमिल्ने उहाँले बताउनुभयो ।

घिसिङलाई उहाँको क्षमता र चाहनाका आधारमा अरु कुनै ठाउँको जिम्मेबारी दिन सकिने गरी व्यवस्थापन गर्नुपर्ने एमाले नेता भट्टराईको आशय छ ।आफूलाई हटाउने तयारी गरेपछि अहिलेका कार्यकारी निर्देशक शाक्यले भोलि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

सरकारले राजीनामाका लागि दबाब दिए पनि शाक्य राजीनामा दिने पक्षमा नरहेको पनि उक्त श्रोतले बतायो ।तर राजीनामा नदिए प्रष्टीकरण सोधेर अवकाश दिने तयारी उर्जामन्त्रीले भुसालले गर्नुभएको छ ।कुलमानको पक्षमा व्यापक जनसमर्थन रहेकोले शाक्य अदालत नजाने आँकलन सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।


Your Views
Related News