काठमाडौं गुर्जुधारा चोकबाट मातातीर्थतर्फ करिब पाँच सय मिटर भित्र छ यातायात व्यवस्था कार्यालय। मोटरसाइकलको मात्र काम हुने यो कार्यालयमा सेवाग्राहीको ज्यादै भीड हुन्छ। हामी आइतबार बिहान १० बजे गुर्जुधारा चोकमा पुग्नेबित्तिकै केही युवाले घेरेर सोध्न थाले, ‘यातायातमा आउनुभाको ? के काम हो ? नवीकरण गर्नु कि नामसारी ?

चोकदेखि यातायात कार्यालय पुग्दासम्म जोकोहीले पनि यस्ता प्रश्नको सामना गरिरहनुपर्छ। चाहे तपाईं त्यो बाटो भएर अरू काममा जानुस् या कार्यालयकै काममा, ‘बिचौलिया’ बाट फुत्किन सजिलो छैन।

मोटरसाइकल नामसारी गर्न आएका चाबहिलका एक सेवाग्राहीलाई पार्किङस्थलमै केही युवाले घेरे। उनीसँग कामबारे जानकारी लिए र डो¥याउँदै यातायात कार्यालयको आडमै रहेको आफ्नो कार्यालयमा लगे। युवालाई त्यहीं बस्न भने र बिचौलिया मोटरसाइकल लगेर प्राविधिक जाँच गर्न गए।
सबै काम बिचौलियाले गरिदिए। उनी आवश्यक पर्दा मात्र कार्यालय जान्थे। ‘काम गरेबापत तीन सय रुपैयाँ थप लिनुभयो,’ ती युवाले भने, ‘उनीहरूलाई जिम्मा लगाएपछि काम फटाफट हुन्छ। झन्झट हुँदैन।’
कार्यालय वरिपरि रहेका सबैजसो पसलअगाडि उभिएर सेवाग्राहीको यसरी नै तानातान हुन्छ। सेवाग्राही यता जाने कि उता जाने अलमलमा पर्छन्। ‘के काम हो भन्नुहोस्, तपार्इंले दुख पाउनु पर्दैन, हामी सबै काम गरिदिन्छौं,’ अर्का सेवाग्राहीलाई बिचौलियाले पार्किङस्थलमै भन्दैथिए, ‘तपार्इंको काम एकैछिनमा हुन्छ, यहाँ पसलमा बस्दै गर्नुस्। म गरिदिन्छु।’
कार्यालयबाहिरको दृश्य हेर्दा लाग्छ, यहाँ बिचौलियाको सम्पर्कमा नपुगी कामै हुँदैन। सेवाग्राहीभन्दा बिचौलियाको संख्या अत्यधिक देखिन्छ। लेखापढी, बिमा कम्पनीका नाममा दर्जनौं पसल छन्, तर त्यहाँ ती कार्यालयले आफ्नो सेवा दिनेभन्दा बिचौलियाकै बढी काम गरिरहेका हुन्छन्।

‘मलाई ५/६ जनाले फलो गरिसके, यहाँ आफैं काम गर्छु भन्दा पनि नपाइँदो रहेछ,’ सातदोबाटोबाट आएका सुनिल गुरुङले भने, ‘पूरै उनीहरुको नियन्त्रणमा छ यातायात कार्यालय।’सुधारको प्रयास
यातायात कार्यालयको प्रमुख भवनबाहिर नागरिक बडापत्र राखिएको छ। त्यसमा कार्यालयबाट प्राप्त हुने सेवासुविधाबारे प्रस्ट लेखिएको छ। कति समय लाग्छ, कति पैसा लाग्छ र कुन फाँटमा जाने सबै जानकारी नागरिक बडापत्रमा उल्लेख छ।

त्यसै कार्यालयका भित्ताभरि बिचौलियालाई निरुत्साहित हुने गरी फ्लेक्स टाँगिएका छन् भने गुनासो सुनुवाइको व्यवस्था पनि गरिएको छ। यति मात्र नभएर अडियो रेकर्डमार्फत कार्यालयबाट दिइने सेवाप्रवाहबारे बजाइन्छ। कार्यालय प्रमुखले आफ्नो कार्यकक्षबाटै सीसीटीभीमार्फत निगरानी गरिरहेका हुन्छन्।सेवाग्राही नै अल्छी
आवश्यक कागजातमा साथमा भए आधा घण्टामै हुने कामका लागि पनि बिचौलियाको प्रयोग गरिन्छ,’ यातायात कार्यालयका सूचना अधिकारी सुरेश खनाल भन्छन्, ‘रेस्टुरन्टमा घण्टौं गफ चुटेर बस्न सक्छन् तर कार्यालयमा गएर आफैं काम गर्न वा लाइन बसेर काम गर्न चाहँदैनन्।’ सेवाग्राहीको अल्छीपनले पनि बिचौलियाले काम पाइरहेका छन्।
‘सेवाग्राही नै एउटा मान्छे बोकेर आउँछन्, हामीले के भन्नु ? ’ सूचना अधिकारी खनाल भन्छन्, ‘बिचौलियालाई निरुत्साहित गर्ने हाम्रो अभियान हो तर सेवाग्राहीसँगै आएपछि तपाईं को भनेर सोध्ने कुरा भएन।’ सेवाग्राहीलाई छिटोछरितो सेवा दिनु नै कार्यालयको उद्देश्य रहेको दाबी खनालको छ।बिचौलियाको बिगबिगी बिचौलियालाई पटकपटक कारबाही गरिए पनि नियन्त्रण गर्न नसकिएको सूचना अधिकारी खनाल बताउँछन्। ‘यहाँ परिचयपत्र लिएका लेखापढी व्यवसायी पनि छन्,’ उनले भने, ‘उनीहरूलाई लाइसेन्स दिएर नै काम गर्न दिइएको छ तर उनीहरूको कार्ड भिरेर बिचौलिया आइदिन्छन्। बिचौलिया चिन्नै गाह्रो।’

पछिल्लो दुई महिनामै दुईतीन पटक प्रहरीको सहयोगमा बिचौलियालाई लखेट्ने र पक्राउ गर्ने प्रयास यातायात कार्यालयले गरे पनि आइतबारको दृश्यले भने बिचौलियाको राज सहजै अन्त्य हुने संकेत देखिँदैनथ्यो। गुर्जुधारा चोकदेखि कार्यालय परिसरसम्म मात्र नभएर, यातायात कार्यालयका प्रत्येक फाँटसम्म बिचौलियाकै पहुँच देखिन्थ्यो। उनीहरू सरकारी ढड्डा बोकेर प्रत्येक फाँट चहारिरहेका थिए।
प्राविधिक परीक्षणमा भीड बाइक नामसारी गर्दा प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्छ। कार्यालय समय अगाडि नै बाइकको भीड लागिसकेको थियो। चर्को गर्मी थियो। यातायातका कर्मचारी प्रत्येक मोटरसाइकलको च्यासिस नम्बरको जाँच एक/एक गरेर गरिरहेका थिए। ‘पहुँचवाला र चिनेजानेकाको काम छिटो हुन्छ, नभए यसरी गर्मी सहेर लाइनमा बस्नुपर्छ,’ एक सेवाग्राहीले गुनासो गरे।
‘लाइन बस्नुपर्ने झझन्ट हाम्रो देशमा कहिले अन्त्य हुन्छ होला ? ’ पसिना पुछ्दै अर्का सेवाग्राहीले भने, ‘नागरिकले कर तिर्न पनि यसरी लाइन लाग्नुपर्छ। राज्यले सुविधा नदिने, खाली कर मात्र उठाइराख्ने ? पैसा तिर्न पनि यति दुःख पाउनैपर्ने ! धन्य हाम्रो देश !’न्यून कर्मचारी मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको कामबाहेक सबै काम यही कार्यालयबाट हुन्छ। मोटरसाइकलको सबैभन्दा बढी चाप काठमाडौं उपत्यकामा छ। यसका लागि यही कार्यालय पुग्नुपर्छ सेवाग्राही। मोटरसाइकल दर्ता, नामसारी र सरुवा सहमतिको काम हुने भएकाले सेवाग्राहीको धेरै हुनु स्वाभाविक हो। ‘यति भीड हुन्छ कि हामीलाई त शौचालय जानसमेत समय पाइँदैन,’ एक कर्मचारीले भीड देखाउँदै भने, ‘यहाँ तपाईंहरु कुरा गर्दागर्दै उहाँ फाइल थुप्रिसकेको छ।’
कार्यालयमा आठ अधिकृतसहित ५५ कर्मचारी कार्यरत छन्। यो दरबन्दी उपत्यकाका सेवाग्राहीको तुलनामा अत्यन्त न्यून रहेको कार्यालयको दाबी छ। सेवाग्राहीको भीड बढी हुने र कर्मचारी कम हुँदा काम भनेअनुसार छिटोछरितो हुने नसकेको कर्मचारी स्वीकार्छन्।चार ठाउँमा कार्यालय चारतिर छरिएका छन् कार्यालयका भवन। पहिलोपटक यातायात कार्यालय पुगेका सेवाग्राहीलाई कार्यालय भेट्टाउनै मुस्किल पर्छ। बाइकको लटअनुसार कार्यालय छुट्याइएको छ। सबै कार्यालय एकै ठाउँमा छैनन्। कार्यालय खोज्दै जानुपर्छ सेवाग्राहीले। लटअनुसार कार्यालय भवनहरु फरकफरक ठाउँमा छन्। बाइक नवीकरण, राजस्व तिर्ने, नामसारी लगायत काम फरकफरक भवनमा हुँदा सेवाग्राही मर्कामा परेको बताउँछन् कार्यालयका सूचना अधिकारी खनाल।‘चार ठाउँमा कार्यालय छ। सेवाग्राहीलाई अप्ठ्यारो परेको छ,’ उनले भने, ‘भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको छ।’ उनका अनुसार कार्यालयको भवन निर्माणका लागि भौतिक तथा पूर्वाधार मन्त्रालयले ३४ रोपनी जग्गा दिएको छ। यातायात कार्यालयसँगै रहेको उक्त जग्गा छ। तर मुलुक संघीयतामा गएसँगै यातायात कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत परेको छ। जग्गा भने संघकै नाममा छ। संघले प्रदेश सरकारलाई जग्गा हस्तान्तरण नगरेसम्म कार्यालयको आफ्नै भवनमा सर्ने कुरा पनि सजिलो छैन। उक्त जग्गा यातायात कार्यालयकै भवन निर्माणका लागि लिइएको हो।
source by annapurna


Your Views
Related News