काठमाडौँ, १५ भदौ । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो ।

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।

एटीएमको सिस्टम नै ह्याक गरेपछि बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द गरिएकाे छ । नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका हुन् । एनआइसी एसिया र प्रभु बै‌ंककाे सिस्टम नै ह्याक गरिएकाे छ भने नबिल बैंकबाट ठूलाे मात्रामा नगद झिकिएकाे छ ।

बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई नै चिनियाँ गिरोहले ह्याक गरेको खुलेपछि अनिश्चितकालका लागि एटिएमहरु बन्द गरिएकाे हाे ।

पक्राउ परेका चिनिया नागरिकलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्दै ।https://youtu.be/EVi7f0s9T64


Your Views
Related News