काठमाडौ । लामो समय देखि सुगौली सन्धीमा गुमेको नेपाली भू–भाग फिर्ता माग्दै आउँनु भएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष सामाजिक अभियन्ता फणीन्द्र नेपालले लिपुलेक कस्को हो ? भनेर सरकारलाई प्रश्न गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त विषय वस्तुको उठान गर्दै सरकारलाई प्रश्न गर्नुभएको हो ।

सामाजिक अभियन्ता नेपालले चीन र भारतले व्यापारिक मार्गको रुपमा लिपुलेकलाई प्रयोग गर्ने गरी गरेको सहमति नेपाली भूभागमाथिको अतिक्रमण भएको भन्दै त्यसलाई रोक्न सकिने आधारहरु सहित सरकारले पहल नगर्नुको कारणबारे प्रश्न उठाउनु भएको छ । नेपाली भूभागमाथि त्यसरी अतिक्रमण हुँदा नेपाल सरकरले त्यसलाई सच्याउन के पहल गर्यो ? जानकारी नभएको भन्दै नेपाली भूभागप्रति चिन्ता जाहेर गर्नुभएको छ ।

सन् २०१५ मे १५ मा चिनियाँ र भारतीय प्रधानमन्त्रीले बेजिङमा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा नेपालको लिपुलेकलाई ती दुई देशबीचको व्यापारिक मार्गका रूपमा विकसित गर्ने भन्ने उल्लेख गरेपछि नेपालको सहमति नलिईकन कसरी चीन र भारतले नेपाली भूभागबारे सहमति गर्न सक्छन् भन्ने प्रश्न जनस्तरमा उठ्यो तर नेपाल सरकारले दृढतापूर्वक यो कुरा उठाएन ।

मैले चीन भ्रमणमा गएका बखत चिनियाँ कूटनीतिज्ञहरूसँग यसबारे प्रश्न उठाउँदा उनीहरूले भारतले लिपुलेक आफ्नो भूभाग भएकोे हुँदा यहीँबाट ब्यापारिक मार्ग खोल्न सकिन्छ भनेपछि संयुक्त प्रेसिवज्ञप्तिमा त्यो बुँदा परेको हो , यसमा भएको गल्ती सच्याउन नसकिने होइन । तपाईंहरू कि काठमाडौँ स्थित चिनियाँ राजदूतावासमार्फत् आउनुस् कि आफ्नै देशको परराष्ट्र मन्त्रालयमार्फत् ।

सरकारले चीन र भारतले संयुक्तरूपमा लिपुलेकमा गरेको अतिक्रमणबाट ती दुई मुलुकलाई पछि हटाउन आजसम्म केकस्ता प्रयासहरू गर्यो ? यसबारे मैले त कुनै जानकारी पाएको छैन । यसबारे पत्रकार मित्रहरूले परराष्ट्र मन्त्रालयसँग सोधपुछ गरिदिनुभए हामी नेपाली जनता उपकृत हुने थियौँ ।


Your Views
Related News