काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी पाउने स्थिति नभएको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले अपेक्षाकुत विकास नभएकाले पाइलटले रोजगार पाउन सक्ने अवस्था रहेको बताएका हुन् ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले भने ‘खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।’ मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘हलो जोतेर खाने खेत पनि छैन, हवाइजहाज पनि छैन ।’
शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उनले तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्ने बताए । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम नलाग्ने बताउदै प्रधानमन्त्री ओलीले काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा भनाई थियो । विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने ‘अन्धाधुन्ध सम्बन्धन नदिनुस्, जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस्, सम्झाएर पठाउनुस्, अर्काे विषय पढ्न भन्नुस्, प्राविधिक विषयमा जानुस् ।’ कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।
जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । उनले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताए । उनले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गरे ।

कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस, मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस्’, प्रधानमन्त्री ओलीको प्रश्न गरे ‘भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ, मैले एक पटक प्राध्यापकहलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?’
नेपालमा विश्वविद्यालय स्थापना ढिला भएपनि विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र बनेको बताउदै प्रधानमन्त्री ओलीले भने ‘त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन, अब यो बदल्नुपर्छ ।


Your Views
Related News