सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय, प्रादेशिक, सङ्घीय सरकारले देशलाई समृद्ध बनाउँदै नयाँ पहिचान कायम गर्न सफल भइरहेको बताउनुभएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आज आयोजित बालमैत्री नगर घोषणामा दुई छिमेकी देशको बीचमा रहेर नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको बताउँदै उहाँले देशमा सङ्घीयता कार्यान्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको बताउनुभयो ।

सङ्घीय सरकारमार्फत तराई मधेश समृद्धि कार्यक्रम आफँैले ल्याउन लगाएको दाबी गर्दैै मन्त्री पण्डितले कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिनेसमेत बताउनुभयो । स्थानीय तहमा उपभोक्ता समिति र ठेकेदारबाट भइरहेको विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मा दिइएको बताउँदै उहाँले काका, भतिजा, दाजु भाइको नेतृत्वमा उपभोक्ता समिति बनाउने र काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोररुपमा प्रस्तुत हुने पनि बताउनुभयो ।

“अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठा भरिभराउ बनेको छ”, मन्त्री पण्डितले भन्नुभयो, “भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूलाठूला हल बनाउन पनि हामी तयार छौँ ।” उहाँले गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई नछाड्ने बताउनुभयो ।


Your Views
Related News