काठमाडौं । तत्कालीन राजसंस्था र तत्कालीन राजाहरु मुलुकको समृद्धि र जनताको अधिकारको निम्ति बाधक भएको नेताहरुले आरोप लगाउने गर्थे । मुलुकमा जनता अधिकार सम्पन्न हुन र मुलुकको समृद्धिका लागि राजसंस्थाको अन्त्य आवश्यक रहेको भन्दै २०६५ साल जेठ १५ गते बसेको तत्कालीन संविधान सभाको बैठकले मुलुकलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक’ घोषणा गरेको थियो । राजा र उनीहरुको परिवारलाई मुलुकले ठूलो धन राशि खर्च गर्नु परेको नेताहरुको आरोप थियो ।

मुलुकमा गणतन्त्र आएको औपचारिक रुपमा ११ वर्ष भयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई निष्क्रिय पारेर नेताहरुले मुलुकको बागडोर सम्हालेको १३ वर्ष नाघि सकेको छ । यस अवधिमा सबै पार्टीले सरकारको नेतृत्व सम्हालिसकेका छन् । १० वर्ष सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीदेखि २००७ साल अघिदेखि प्रजातन्त्रका लागि लडेको बताउने कांग्रेससम्मका सबै दलले राजाबिनाको सत्ता सम्हालेका छन् भने मुलुकमा क्रियाशील अधिकांश दलका नेताहरु सरकारमा सामेल भएका छन् ।

तर, जनताले भने मुलुकमा फेरिएको राजनीतिक व्यवस्थाको अनुभूति गर्न सकेका छैनन् । राजा फ्यालेर सयौँ राजा पाल्नु परेको, नेताहरुको व्यापारी र व्यवसायीसँग हिमचिमले महङ्गीको मार खेप्नु परेको, भनसुन र पैसा खर्च नगरि राज्यबाट प्रदान गरिने सेवा लिन असम्भव रहेको जनताको गुनासो रहने गरेको छ । यही पेरिफेरिमा केही दिन यता एउटा तस्विर भाइरल बनिरहेको छ । जुन तस्विरलाई लिएर जनताको आशक्ति राजसंस्थाप्रति ढल्किएको देखिन्छ । यो तस्विर हो, पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको ।

उनले आफ्नै निवासमा नेपाली चिकित्सकबाट आफ्नो स्वास्थ्य परीक्षण गराएको तस्विर भाइरल बनिरहेको हो । करोडौंको मालिक रहेका पूर्वराजा ज्ञानेन्द्रकी आमासमेत रहेकी उनले विदेश नगएर आफ्नै निवासमा नेपाली चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएको विषयले नेताहरुमाथि सामाजिक सञ्जालमा व्यंग्य गरिएको छ । रत्नमात्रै होइन पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारसलगायत पूर्वराज परिवारका सदस्यहरु विरामी हुँदा नेपालकै अस्पतालमा उपचार गराउँदै आएका छन् ।

यसैबेला नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल र छोरीहरुसहित आराम गर्न भन्दै दुबई गएका छन् । उनी फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १० दिनका लागि सिंगापुर जाने खबर सार्वजनिक भएको छ । जनताको लागि लडेका भनेका नेताहरु उपचार र घुम्न विदेश जाने गरेको घटनालाई जनताले अस्वीकार गर्दै आएका छन् । मुलुकभित्र आराम गर्ने ठाउँ प्रशस्त रहेको र नेपाली चिकित्सक र अस्पतालप्रति भरोस नगरेर मुलुकको ठूलो धन राशि विदेशमा खर्च गरेको आरोप नेताहरुमाथि लाग्दै आएको छ ।


Your Views
Related News