गरीब, विपन्न र पिछडिएका समुदायको उन्ययन, हकअधिकार र पहिचानको सुनिश्चितताका लागि सुडी समाजका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि गोष्ठिका सहभागीले जोड दिएका छन् ।

सुडी समाज काठमाडौँ, युवा उपसमितिले काठमाडौँमा आयोजना गरेको ‘युवा भेला तथा बदलिँदो जीवनशैली’ विषयक गोष्ठिमा सुडी समाजका अगुवाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए ।

समाजका अध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले युवा वर्गको विकास र क्षमता अभिवृद्धिका लागि समाजले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने भन्दै समाजको विकास र समृद्धिका लागि युवाहरुको भूमिका उल्लेखनीय हुने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाको सहभागिता सामाजिक र आर्थिक क्षेत्रमा बढाउन आवश्यक छ ।”

नेपाल पत्रकार महासङ्घका सचिव शीतलप्रसाद महतोले कुनै पनि समाजको विकास र समृद्धिमा युवा वर्गको महित्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सुडी समाजका युवाहरुले पनि समाजभित्र देखिएका विभिन्न खाले विकृति, विसङ्गति र पछौटेपन न्यूनीकरणका लागि अग्रेणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजभित्रको यर्थाथतालाई आत्मसात गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सचेतनामूलक र निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम लिएर ग्रामीण क्षेत्रसम्म पुग्न युवासँग आग्रह गर्नुभयो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले समाजको विकास र समृद्धिका लागि युवा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अभिभावकको चाहनाभन्दा पनि आफूले चाहेको विषयमा उच्च अध्ययन गरी समाज र मुलुकको सर्वाङिण विकासमा लाग्न युवालाई आह्वान गर्नुभयो । युवा समितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इञ्जिनीयर सत्यनारायण साह, डा चन्देश्वर महासेठ, महिला उपसमितिका माला महतो र प्रशिक्षक डा नवल पञ्जियारले सुडी जातको वेशभूषा, रहनसहन, भाषा, धर्म र संस्कृतिको प्रवद्र्धनका लागि समाजले पूर्ण प्रतिबद्धताका साथ कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसर डा नवल पञ्जियारले बदलिँदो जीवनशैलीका सम्बन्धमा प्रवचन दिनुभएको थियो ।


Your Views
Related News