मैले २४ वर्षे प्रहरी सेवाको जागिरे जीवनबाट राजीनामा दिई बिदा लिएको घटना आमचासोको विषय बन्न पुग्यो । प्रहरी सेवाको आकर्षक पद एसपीमा लामो अवधि र अवसर बाँकी रहँदारहँदै त्याग गर्ने अवस्था कसरी सिर्जना हुन पुग्यो भने विषयमा चासो राख्ने स म्पूर्ण शुभचिन्तकलाई यथार्थ जानकारी गराउनु मेरो कर्तव्य हो ।प्रहरी सेवामा मेरो प्रवेश प्रहरी निरीक्षक पदबाट २०५१ साल चैत ५ गते भएको हो । त्यस समयमा अहिलेको जस्तो विविध क्षेत्रमा जागिरको अवसर थिएन । सरकारका विभिन्न अंगमा सेवा गर्ने अवसर पाइन्थ्यो ।

सरकारका विभिन्न सेवामध्ये अन्यायविरुद्ध लड्ने,न्याय दिलाउने, अपराध रोकथाम गर्ने र नियन्त्रण गर्ने सत्य,सेवा, सुरक्षणम्को मूल मन्त्र बोकेको संगठनमा रहेर काम गर्ने आकर्षणले मलाई डोर्‍यायो । कडा मेहनत र परिश्रमले नेपाल प्रहरी सेवामा प्रवेश पाएँ। सेवा प्रवेशपछिको समग्र रुपमा संगठनका सपना नै मेरा सपना थिए ।त्यसरी नै संगठनले समेत मेरो कर्तव्यपालन, निष्ठा, इमानदारी, व्यवसायिकता र मैले सके गरेको योगदानहरुको सुरक्षा र मूल्यांकन गर्ला भन्ने भरोसा गर्दै अनवरत रूपमा विभिन्न परिस्थितिमा समेत सक्रिय रहँदै २४ वर्ष संगठन र देशको सेवा गरेँ ।

अपराध नियन्त्रण, अनुसन्धान र राज्यको आन्तरिक सुरक्षा कायम राख्ने मूल जिम्मेवारी पूर्ण, निष्ठा,इमानदारी, निष्पक्ष र तटस्थताका साथ सम्पन्न गरी संगठनलाई सहयोग गर्ने मेरा अभीप्सा थिए ।गत माघ २६ गते शनिबारका दिन सदाझैं नियमित अफिस गएर काम सकी साँझ डेरामा आई करिब १० बजे सुती भुसुक्कै निदाएछु । मैले त्यो रात नराम्रो सपना देखेँ । सपनामा मेरो एक सुन्दर फर्म हाउसको मालिकसँग भेट हुन पुगेछ । मालिक हेर्दा सुन्दर र खाइलाग्दा थिए । फर्म हाउसमा लहलह मकै फलेको थियो । मालिक ले मलाई जागिरको अफर गरे, मकैबारीको सुरक्षा गर्ने ।

राम्रो सेवा, सुविधा, आकर्षक तलब, लत्ताकपडा, युनिफर्म, पि क्याप, जुत्ता, क्याप, काँधभरि फुली दिने लोभ देखाए । मालिकको सर्त थियो, बाँदरहरु लाग्छन्, ड्युटी गरी मकैबारीलाई सुरक्षित गर्ने ।मालिकको अर्को पनि कडा सर्त थियो । त्यो के भने दिइए का युनिफर्म, फुली, जुत्ता, पि क्याप दुरुस्त लगाई बारीका माझमा बसी हलचल नगरी, कतै नहिँडी पूर्ण सतर्क रुपमा पोजिसनमा बसी ड्युटी गर्नुपर्ने सर्त थियो । मालिक देखावटी रुपमा खाइलाग्दा आकर्षक अनुहारका भएकाले भरोसा गरी सबै सर्त मन्जुर गरी ड्युटीमा बसेँ ।

भोलिपल्ट मालिकका क्वार्टरमा ठूला पाहुना आएकाले मलाई डुयुटीमा राखी आफू क्वार्टरतिर लागेँ । ड्युटीमा बसेको केही क्षणपछि बारीछेउमा केही बाँदरहरुलाई हेर्दै बसेको देखेँ । मैले एकपटक त बाँदरहरु भगाएँ । एकछिनपछि पुनः साना, मझौला र अजंगका बाँदरहरुको हुल बारीको चारैतर्फबाट आएको देखेँ । बाँदरको बथानले मलाई चारैतर्फबाट बारीका डिलमा बसी जिस्काउन पो थाल्यो । केही आँखा झिम्काउँथे, केही ङिच्च हाँस्थे त केही चिच्याउँथे ।म एक्लो थिएँ । मैले त मालिकको सर्तबमोजिम कर्तव्य पालन गर्ने भएकाले सकेको सुरक्षा प्रयास गर्दे थिएँ ।

मालिकका क्वार्टरतिर हेरेँ, क्वार्टर बाँदरहरुले घेरेको देखेँ । सोही समयमा एकाएक बाँदरहरुको हुलले मैमाथि आक्रमण गर्‍यो । मेरा युनिफर्म च्यातियो । फुली र टोपी बाँदरले लग्यो । छिनभरमै लहलह मकै बारी र म स्वयंलाई सखाप पारी बाँदरको बथान हिँड्यो ।म बबुराको एक्लो प्रयास बाँदरहरुको हुलको अगाडि के नै लाग्थ्यो र ? बाँदरहरु हिँडेपछि मलाई मालिकको सर्तको याद आयो । दिइएको कडा निर्देशन र सर्तमा दुरुस्त ड्य्टी बसेपछि मकैबारी र तिम्रो पनि सुरक्षा हुन्छ भनेको त सबै सर्वाङ्ग नाङ्गो बनाएर पो बाँदर हिँडे ।

बिहान झिसमिस उज्यालो हुँदै थियो। आफ्नो रुप र मकैबारीको हालत देखेर आफैंलाई लाज लाग्यो, हीनताबोध भयो । भएका सबै घटना मालिकलाई दर्शाउन क्वार्टर गएको त क्वार्टरमा शनिबार २६ गते भेट्न आएका ठूला पाहुनासँग राति अबेरसम्म खानपिन र ना चगानसमेत गरी मस्त निद्रामा रहेछन् । उज्यालो भएपछि बाँदरहरुले बनाएको मेरो सर्वाङ्ग रूप छरछिमेकीले समेत देखे र थाहा पाए । सबै छिमेकी भेला भई जिस्काउन पो थाले । लाजले पानी पानी भएँ, चिटचिट पसिना आयो । त्यति नै बेला मेरो मोबाइलको घन्टी बज्यो, सपनाबाट ब्युँझिएँ ।


Your Views
Related News