काठमाडौंं : कोरियाको लागि नेपालकी पहिलो प्रहरी अधिकृत बनेकी छन् सम्झना राई । भोजपुरमा जन्मेकी २८ वर्षीय राई दक्षिण कोरियाको प्रहरीमा भर्ती भएकी हुन् । सन् २०१० मा नेपाल भ्रमणमा आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।

भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरिन् । सोही क्रममा उनी कोरियाको प्रहरी अधिकृत बनेकी हुन् । राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफू सहयोग गर्ने बताइन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेको बताउँदै राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानूनी सहयोग गर्ने समेत बताएकी हुन् ।

उनले विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफू तत्पर रहने पनि बताइन् । आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतकोरुपमा काम शुरु गर्ने छिन् ।


Your Views
Related News