काठमाडौँ, १८ असार । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएका छन् ।यस वर्षको लाइसेन्स परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि ६५ प्रतिशत फेल भएका हुन् ।
‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’
नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन । कतिपय कलेजमा सिक्ने, सिकाउने वातावरण अनुकूल नरहेको उनको भनाइ छ । ‘धेरैजसो नर्सिङ कलेजको आफ्नो अस्पताल छैन । उनीहरूले अन्य अस्पताल देखाएर विद्यार्थी पढाइरहेका हुन्छन्,’ उनले भनिन्, ‘भएका अस्पतालमा समेत बिरामी कम हुन्छन् । कलेज निरीक्षणमा जाँदा उनीहरूले अन्यत्रबाट सामान ल्याउने वास्तविकता विद्यार्थीले बताएका छन् । गत साता लिइएको लाइसेन्स परीक्षामा विदेशबाट अध्ययन गरी आएका विद्यार्थीमध्ये करिब २० जनाको सीप परीक्षण गरिएको थियो । ‘उनीहरूको अवस्थासमेत हामीले राम्रो पाएनौं,’ निरौलाले भनिन् ।काउन्सिलले बर्सेनि तीन पटक नर्सको लाइसेन्स परीक्षा लिने गर्छ ।