काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको बोलि नबुझिएको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले कमेन्ट गरेपछि अहिले चौतर्फी यसको विरोध गरिएको छ ।

राष्ट्रपति भण्डारीको कमेन्ट देउवामाथि भएको भद्धा मजाक भएको विश्लेषण गर्दै यसको विरोध गरिएको हो । शारिरिक कमजोरीमा व्यंग्य गर्न नमिल्ने धेरैको तर्क छ । हो, सभापति देउवाको बोली सहजै बुझिँदैन । तर, पनि राष्ट्रपतिले उनको त्यो कमजोरीलाई मजाकको विषय बनाउँन मिल्दैन, धेरैले यस्तै भनेका छन् ।

आखिर देउवाको बोली किन यस्तो भयो, त्यो राष्ट्रपतिले बुझन् जरूरी छ । पञ्चायत विरुद्धको आन्दोलनकामा पाएको यातनाका कारण देउवाको बोली यस्तो भएको राष्ट्रपतिले बझिनन् वा उनलाई थाह छैन । तर, पुराना कांग्रेस नेता भरतप्रसाद उप्रेतीले ‘साझा पोस्ट’ नामक न्यूज पोर्टलमा लेख लेख्दै देउवाको बोली बारेमा खुलसा गरेका छन् ।

के भएको रहेछ ? (उप्रेतीकै शव्दमा)

हिजो एकसेएक परीक्षा पास गरेका नेताहरु कांग्रेसमा छन् । नेतृत्वमाथि मात्रै शंका गरेर हुँदैन । तलैदेखि जग बलियो बन्नुपर्छ । त्यसका लागि कांग्रेसीहरु चुकिरहेका छन् ।

शेरबहादुरजीले युवा अवस्थामा असाध्यै कष्टसाध्य परीक्षा पास गरेको मेरै आँखाले देखेको छु । जैसी देवल बम काण्डमा देउवाजीलाई पनि समात्यो । त्यतिबेला धेरै कांग्रेसी योद्धाहरुलाई पक्राउ गरिएको थियो । नेतृत्वमा भए पनि नभए पनि शेरबहादुर एउटा बहादुर केटो हो । बहादुर दिल भएको मानिस हो । ऊ झुकेन ।

देउवा अधवैंशे केटो थिए त्यतिबेला । डिएसपी कार्यालयमा उनलाई पक्राउ गरेर ल्याए । एक बोरा बम ल्याएको र कहाँबाट ल्याएको हामीलाई मात्र थाहा थियो ।

प्रयागराज काँग्रेस छाडेर पञ्चायतमा गएका थिए । अरु पनि जालान् भनेर रोक्न बम हानेको । प्रयागराज मेरो बाल्यकालदेखिको साथी । ००७ सालदेखिको । एउटै दिदीले टिका लगाएको ।

प्रयागको घरमा बम पड्किएको रहेछ । मलाई थाहै थिएन । बम पड्किएपछि म उसको घरमा पुगेको रहेछु । गृहमन्त्री त्यही आएर बम्किए । ‘यी कांग्रेसीहरुलाई म एक एक गरेर सिध्याउँछु,’ मलाई हेर्दै बम्किए उनी । प्रयाग पनि झोक्रिएर बसिरहेको थियो । मलाई त पछि पो थाहा भयो ।

म घर फर्किएँ । मलाई पनि समातिहाल्यो । हिरासतमा कष्टकर बसाई थियो । अर्को कोठामा शेरबहादुरलाई राख्यो । सुदूरपश्चिमबाट आएको केटो । उनको को थियो र काठमाडौंमा ? खानापिना केही थिएन । मलाई घरबाट आएको आधाआधा गरेर खान्थ्यौं । उसलाई पिटेको सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । मुक्का हान्दा उसको शरीर काटिएको छ । त्यतिबेला देउवालाई गुद्वारबाट छडी घुसारे । जिब्रोमा करेन्ट लगाए । बस्न हुँदैनथ्यो । उनी अहिले पनि राम्रोसँग बोल्न सक्दैनन् । आँखाबाट बरर आँसु झार्थे, तर केही कुरा खुलाएनन् । थप चरम यातना दिए । तर उनले कसैगरी पनि बकेनन् । बकेको भए धेरै मानिसलाई सिध्याउँथ्यो पञ्चायतले । त्यस्तो निष्ठा र प्रतिबद्धता भएका मानिस हुन् देउवा ।

मभन्दा जुनियर केटा हुन् । २० साल आसपास नेविसंघको राजनीति सुरु गरेका । तर, उनको कुर्बानी देख्दा मलाई उनी सँधै सिनियर हुन् जस्तो लाग्छ । अरुले अनेक कुरा गर्छन् । तर, मलाई देउवा नराम्रो गर्ने मान्छे हुन् जस्तै लाग्दैन ।

(उप्रेतीको यो भनाई साझा पोस्टले कुराकानी आधारित बनाएको लेखबाट लिइएको हो ।)


Your Views
Related News